१२ पुस धनगढी
पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको छ । जसको शक्ति ४.२ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यसअघि पुस ९ गते राति ९ः२५ मा दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गयो । पुस ३ गते दिउँसो ३ बझाङको धामेना आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गयो । त्यसको अघिल्लो दिन पुस २ गते मात्रै सोही ठाउँमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसअघि मंसिर २६ गते बझाङको रायाल केन्द्रबिन्दु भएर ३.९ म्यान्निच्यूडको भूकम्प गएको तथ्यांक छ ।
यसरी पछिल्लो केही समयदेखि पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको छ । हरेक भूकम्पको शक्ति ४ म्याग्निच्यूड आसपासको छ । यसो हुनुमा कम्तीमा दुईवटा कारण रहेको जानकारहरू बताउँछन् ।
पहिलो हो– गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प । २०८० असोज १६ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको ठीक एक महिनापछि सोही ठाउँ केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्यूडको अर्को भूकम्प गयो । त्यसअघि बझाङ, बाजुरामा पनि ५ देखि ६ म्याग्निच्यूडका भूकम्प भएका थिए ।
खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झा पश्चिम नेपालका अहिलेका भूकम्प जाजरकोट, बझाङ लगायत क्षेत्रमा गएको भूकम्पको पराकम्प भएको बताउँछिन् । उनको भनाइमा जाजरकोटपछि मात्रै पश्चिम नेपालमा पाँच सयभन्दा बढी पराकम्प गइसकेका छन् ।
‘बाजुरा, बझाङ र जाजरकोटमा गएका भूकम्पको पराकम्प अहिलेसम्म गइरहेका छन्,’ झाले भनिन्, ‘यो एकदमै प्राकृतिक हो । एउटा ठुलो भूकम्प गइसकेपछि हजारौँ पराकम्प आउँछन् ।’ त्यसबाहेक केही नयाँ भूकम्प पनि गएको उनको भनाइ छ ।
पश्चिम नेपालमा लगातार भूकम्प जानुको दोस्रो कारण हो– त्यहाँ सञ्चय भएको शक्ति । भूकम्प क्षेत्रका जानकारहरूका अनुसार पश्चिम नेपालमा पाँच सय वर्ष यता ठुलो भूकम्प गएको छैन । यसको मतलब त्यहाँको जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ । सन् १५०५ जुन ६ मा मुस्ताङमा ८ म्याग्निच्युडको भूकम्प गएको इतिहास छ । जसलाई विज्ञहरू नेपाली इतिहासमा अभिलेख भएको सबैभन्दा ठुलो शक्तिको भूकम्प मान्छन् । यसको शक्ति ८.२ देखि ८.८ म्याग्निच्यूडको बीचमा अनुमान गरिएको छ । तत्कालीन पश्चिमाअञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्प गएपछि मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा ठुलो भूकम्प जान सकेको छैन ।
जसले गर्दा उक्त क्षेत्रमा ८ म्याग्निच्यूड बराबरको भूकम्प निम्त्याउन सक्ने शक्ति सिञ्चित भइसकेको छ । यसले गर्दा पनि पश्चिम नेपालमा ४ देखि ६ म्याग्निच्यूडका भूकम्प जानु स्वाभाविक रहेको झाको भनाइ छ । ‘हामीले ४५ वर्षदेखि भूकम्पको निगरानी गरिरहेका छौँ,’ उनले भनिन्, ‘जहाँजहाँ भूकम्प गयो, त्यहाँत्यहाँ नक्शा तयार गर्दा मध्यनेपाल, पश्चिम नेपाल र पूर्वी नेपालमा भूकम्पको जोखिम देखियो ।’
झाका अनुसार मध्य नेपालमा १०० वर्षयता ठुला भूकम्प गइरहेका छन् । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गयो । तर यसको प्रभाव गोरखा पश्चिममा परेन । मध्य नेपालमा भने ठुलो क्षति गर्यो । झाका अनुसार गोरखालाई बिन्दु मान्दा त्यसबाट पश्चिम नेपाल हुँदै देहरादुनसम्म ५१८ वर्षको अवधिमा ठुलो भूकम्प गएको छैन । उपमहानिर्देशक झाले भनिन्, ‘यसले गर्दा त्यस क्षेत्रमा हजार वटा ६ म्याग्निच्यूडको भूकम्प र २५ सय वटा ७ म्याग्निच्यूडको भूकम्प जान सक्ने शक्ति छ ।’
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारको बर्मासम्म करिब २५ सय किलोमिटर लामो हिमालय क्षेत्र छ । योमध्ये करिब ८ सय किलोमिटर अर्थात् एक तिहाइ भाग नेपालमा पर्छ । यसमा पर्ने ‘टेक्टोनिक प्लेट’ हरूबिचको टकराव र ऊर्जा सञ्चितिका कारणले नेपाल भूकम्पको जोखिममा रहेको नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) का भूकम्पविद् डा. शिव सुवेदी बताउँछन् । ‘बारपाकभन्दा पश्चिमका क्षेत्रमा कुनै पनि बेला म्याग्निच्युड ७ वा म्याग्निच्युड ८ भन्दा ठुलो भूकम्प जान सक्ने शक्ति सञ्चाय भएको क्षेत्र भनिसकेका छौँ,’ उनले भने, ‘त्यो हिसाबमा हामी जोखिम क्षेत्रमा छौँ ।’
भूकम्पविद् डा. सुवेदी भन्छन्, ‘नेपालको कुनै पनि ठाउँमा कुनै पनि बेला म्याग्निच्युड ७ वा म्याग्निच्युड ८ को भूकम्प जाँदा अन्यथा सोच्नुपर्दैन,’ उनले भने, ‘हाम्रो टेक्टोनिक प्लेट हरेक वर्ष २ सेन्टिमिटर उत्तरतिर सर्दै गएको छ ।’
जोखिम कति ?
नेपालमा निर्माण भएका भौतिक संरचना प्राय ढुंगामाटोबाट बनेका छन् । कंक्रिटका संरचना पनि बलियो र भूकम्प प्रतिरोधी खासै बनेका छैनन् । ढुंगामाटोबाट बनेका संरचनालाई ४ देखि ६ म्याग्निच्यूडको भूकम्पले क्षति गर्न सक्छ । उपमहानिर्देशक झाका अनुसार साना–साना म्याग्निच्युडका भूकम्प जाँदा एक किसिमको राम्रो मान्न सकिन्छ । यसले ठुलो क्षति नगरे पनि मान्छेलाई सर्तक गराई रहन्छ । ‘ठुलो भूकम्प जाँदा धेरै क्षति हुन्छ । साना–साना म्याग्निच्युडका भूकम्प जाँदा केही घर भत्के पनि त्यहाँ मान्छेले नयाँ किसिमका घर बनाउँछन्,’ उनले भनिन्, ‘भूकम्प प्रतिरोधी संरचना बनाउने सिक्ने वातावरण बन्छ ।’
भूकम्पविद् डा. सुवेदीको भनाइमा मध्य नेपालमा ८० वर्ष वा एक सय वर्षको अन्तरालमा ७ देखि ८ म्याग्निच्युडका भूकम्प बेहोरेका छौँ । पश्चिम नेपालमा यसरी शक्ति ‘रिलिज’ भएको छैन । ‘हामी हरेक सेकेन्ड भूकम्पको जोखिममा छौँ । जति बेला पनि ७ देखि ८ भूकम्प जान सक्छ,’ उनले भने । उनका अनुसार नेपालको पश्चिम क्षेत्रमात्रै नभई पूरै नेपाल भूकम्पको जोखिममै छ ।
‘आफू र आफ्नो परिवार जोगाउन सक्छु’
मुलुक नै भूकम्पको जोखिममा रहेकाले व्यक्ति आफू र आफ्नो परिवार जोगाउन सक्छु भन्ने तरिकाले सतर्क हुनुपर्ने जानकारहरू सुझाव दिन्छन् । यो सोचले आफूलाई सतर्क राखेमा मानवीय क्षति कम हुने भूकम्पविद् डा. सुवेदी सुझाउँछन् । ‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनले भने, ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसोयसो गर्छु भनेर सोच्नु पर्यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुपर्यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’
भूकम्पबाट जोगिने मुख्य उपाय भौतिक संरचनामा सुधार गर्नुपर्ने विज्ञको भनाइ छ । ठुलो भूकम्प जान्छ तर कहिले जान्छ भनेर विज्ञानले भन्न सकेको छैन । तर ‘अर्थक्वाइक अर्लि वार्निङ’ प्रविधि धेरै देशमा छ । यसलाई नेपाल तत्काल भित्र्याउनुपर्ने सुवेदी बताउँछन् । उनी भन्छन्, ‘यो प्रविधिले भूमिको तरंगका आधार केही सेकेन्ड मात्रै अघि भए पनि अलर्ट गराउँछ । जसले गर्दा ठुलो क्षतिबाट जोगिन सकिन्छ ।’
उपमहानिर्देशक झा भूकम्पबारे सबै तहका सरकार सचेत हुनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘यसबाट जोगिन सबै तहका सरकार र व्यक्ति स्वयमको भूमिका उत्तिकै रहन्छ । तर बलियो घर कसरी बनाउने ? स्थानीय तहले बढी जिम्मेवारी लिनुपर्छ ।’ संरचना बलियो भयो भने क्षति निकै कम हुने उनको भनाइ छ ।