माघ ५ धनगढी
राज सरगम
हरेक साँझ दार्जिलिङमा चलिरहेको ‘गोर्खा ल्याण्ड आन्दोलन’को रापताप बिर्सिएर अध्ययनमा जुट्ने धेरै विद्यार्थीहरू मध्ये मुकुन्दराज शर्मा (६१) पनि एक थिए। दार्जिलिङस्थित प्राध्यापक रामलाल अधिकारीको घरमा ‘खराकी’मा (छोरा जस्तो भएर) बसेका थिए उनी। आफ्नै गुरुको घरमा बस्दै आएपछि उनको अध्ययनको दायरा फराकिलो हुने त भयो नै, संगत पनि त्यही अनुसार फैलिँदै गयाे।
एक साँझ कसैले ढोका ढक्ढकाए। शर्माले ढोका खोले र हेरे। उनी थिए संगीतकार मणिकमल क्षेत्री। क्षेत्रीलाई शर्मा दाइ सम्बोधन गर्थेँ। क्षेत्रीले ढाेकामै उभिएर शर्मालाई गीत लेख्न अनुरोध गरे। शर्मा एकछिन अन्योलमा पर्दापर्दै ‘लेखिहाल्छु नि’ भने।
‘अरुणा दिदीका लागि खर्साङ रेडियोमा चारवटा गीत रेकर्ड गरिँदै छ, जसमा दुईटा गीत तयार भइसकेको छ भने दुईवटा बाँकी छ। लेख्छौं तिमी? संगीतकार क्षेत्रीले भनेको कुरा शर्माले जस्ताको तस्तै सुनाए, ‘दाइ म लेख्छु ।’
अब कस्तो भावको गीत हो भन्नेमा भित्रैभित्र शर्मा दुविधामा परे। माया प्रेमको गीत लेखिहाल्छु भन्ने पनि नलागेको होइन उनलाई र पनि शर्मा पछाडि हटेनन्। ‘त्यो समय म चल्तीको गीतकार थिइनँ सायद मणि दाइलाई मैले गीत लेख्न सक्छु भन्ने लागेर होला गीत लेख्न भन्नु भएकाे,’ उनले त्यो क्षण सम्झिए।
‘अरुणा दिदीका लागि खर्साङ रेडियोमा चारवटा गीत रेकर्ड गरिँदै छ, जसमा दुईटा गीत तयार भइसकेको छ भने दुईवटा बाँकी छ। लेख्छौ तिमी? संगीतकार क्षेत्रीले भनेको कुरा शर्माले जस्ताको तस्तै सुनाए, ‘दाइ म लेख्छु ।’
‘तर भजन हो नि लेख्नु पर्ने,’ संगीतकार क्षेत्रीले शर्मालाई ठाउँको ठाउँ भने तर शर्माले ‘नाइँ’ भनेनन्।
भनिन्छ, अवसर अचानक आउँछ तर सबै मानिसले छिट्टै ‘क्याच’ गर्न सक्दैनन् तर शर्माले भजन लेखनलाई पनि अवसर ठाने। उनी भन्छन्, ‘आइलागेको अवसरलाई च्याप्प समाउन सकियो भने त्यसले अर्को नयाँ गोरेटो निर्माण गर्दाेरहेछ।’
स्कुले जीवनदेखि नै कनिकुथी लेख्ने गर्थे शर्मा। मनका भावलाई कापीमा कोरिरहने अभ्यास भएकाले भजन लेख्न उनी पछाडि हटेनन्।
भजन पनि लेख्न मन लाग्ने बलियो आधार थियो गायिका अरुणा लामाकाे गायकी। ‘यो आइलागेको अवसर असामान्य थियो, जसको स्वर मैले रेडियोमा सुनेको थिएँ, उहाँले गाउने भनेपछि त म उत्साहित भइहालेँ नि।’
संगीतकार क्षेत्रीले शर्मालाई दुई भजन लेखाउनका लागि आफूसँगै लिएर गए,जहाँ लेखक साहित्यकार राजनारायण प्रधान बस्थे। त्यो होटल थियो। त्यहाँ पुगेपछि शर्माले थाहा पाए राजिव शर्मा नाम गरेका रंगकर्मीले नाटकका लागि थप दुईवटा भजन लेखाउन खाेजेको कुरा। ‘क्याराभाना’ नामक नाटकका लागि शर्माले भजन लेखे— सब हुन तिम्रा भक्त प्रभु तिमी हौ भक्तका भक्त…।
‘मणिकमल क्षेत्री दाइले कम्पोज गर्ने, कुन्दन सुब्बा दाइले गीटार बजाउने अरुणा दिदीले अभ्यास गर्ने काम भयो। दुइवटा भजन त्यही तयार भयो,’ उनले भने।
भजन कम्पोज गरिसकेपछि रेकर्डिङको लागि दार्जिलिङबाट रेडियो खर्साङ जानुपर्थ्याे। त्यो यात्रामा जानका लागि अरुणा लामाले शर्मालाई अनुरोध गरेको अहिले नै हो जस्तो लाग्छ उनलाई। ‘अरुणा दिदीले मलाई रेडियो खर्साङमा हिँड्न अनुरोध गर्नुभयो। यो अर्को अवसर थियो मेरा लागि। मेरा गुरु रामलाल अधिकारीको आर्टिकल रेकर्ड गर्न जाँदा रेडियो खर्साङमा पसे पनि गीत भजन कसरी रेकर्ड हुन्छ हेरेको थिइनँ। त्यो हेर्ने अवसर पनि मेरा लागि ठूलो थियो।’
नाटकमा गीत कहिले बज्छ भनेर सोधिरहन्थे उनी संगीतकार क्षेत्रीसँग। एक दिन, एक हप्ता, एक महिना सोधे । त्यसपछि उनले सोध्नै छोडे। ‘धेरैपछि थाहा पाएँ नाटक नै बनेनछ,’ उनले भने, ‘नाटक नबनेपछि गीत पनि स्टुडियोमै रोकियो।’
प्युठानमा जन्मिए पनि कपिलबस्तु हुर्किएका शर्माले गीत रेडियो नेपाल, अलइन्डिया र विनाका गीतमाला सुनेका थिए। बाजाको साथ रेडियोमा गीत कसरी गाउँछन् भन्ने जिज्ञासा पनि एउटा बहाना बन्यो उनलाई।
संगीतकार क्षेत्री र गायिका अरुणा लामाको टोलीसँग खर्साङ गए उनी। गीत रेकर्ड भयो। सबै फर्किए। नाटकमा गीत कहिले बज्छ भनेर सोधिरहन्थे उनी संगीतकार क्षेत्रीसँग। एक दिन, एक हप्ता, एक महिना सोधे । त्यसपछि उनले सोध्नै छोडे। ‘धेरैपछि थाहा पाएँ नाटक नै बनेनछ,’ उनले भने, ‘नाटक नबनेपछि गीत पनि स्टुडियो मै रोकियो।’
अरुणा लामाले गाएकाे मुकुन्दराज शर्माकाे त्याे भजन, रेडियाे खर्साङमा कहिल्यै बजेन। भजनका सबै हरफहरू उनलाई अहिले याद छैन र पनि सम्झिने क्रम राेकिएकाे छैन। ‘त्यो भजन रेडियो खर्साङका प्राविधिक साथीहरूलाई खोजिदिनु भनिरहेको छु। निरन्तर उहाँहरूलाई अनुरोध गरिरहेको छु। सायद छिट्टै पाइन्छ होला,’ उनले भने।
नाटकसँगै भजन रोकिएपछि शर्मा साह्रै उदासिए। चल्तीका गायक संगीतकारसँग काम गर्ने सपना पहिलो गाँसमा ढुंगा लागेजस्तो भयो। अचानक आएको अवसरले फड्को नै मार्छ भन्ने भ्रम पनि टुट्यो शर्माको। तर मनको भावना कापीका पानामा लेख्न छोडेनन्। भेटघाटबाट टाढिएनन्। पढाईसँगै गीतसंगीतका कुरा गर्न छोडेनन्। र त अरुणा लामा र संगीतकार क्षेत्रीका सामू उनी गतिलो गीतको जोहो गर्न सक्नेमा दरिएका थिए।
‘यो गीत जब अरुणा दिदीलाई सुनाउनुभयो तब उहाँले भन्नुभयो— यो गीत अरूलाई न दे है म गाउँछु,’ अरुणा लामाले भनेको कुरा जस्ताको तस्तै सुनाए शर्माले।
फेरि अर्को एक साँझ। संगीतकार मणिकमल क्षेत्री प्रह्लाद क्षेत्री गफिँदै गरेको बेला शर्मा क्षेत्रीको निवास पुग्छन्। सायद समय सान्दर्भिक कुराकानीकै क्रम थियो त्यो।लोडसेडिङको समय भएकाले ल्याम्पपोष्ट बलिरहेको थियो। भान्सामा खाना पकाइरहेको आवाज भाँडाकुँडा चलिरहेकोबाट थाहा पाएका थिए शर्माले। यता क्षेत्रीले भजन रोकिएको कारणहरू पनि स्मरण गर्दागर्दै नयाँ गीतमा काम गरौँ भने। क्षेत्रीले हार्मोनियम, अर्का एकजना मित्रले गीटार लिएर बसे। अनि उनले टेवलमा कापीकलम लिएर गीत लेख्न बसे-
सधैं साँझ पर्छ …
समा रात पर्छ…
‘यो गीत जब अरुणा दिदीलाई सुनाउनुभयो तब उहाँले भन्नुभयो— यो गीत अरूलाई न दे है म गाउँछु,’ अरुणा लामाले भनेको कुरा जस्ताको तस्तै सुनाए शर्माले।
आखिर अरुणा दिदीले यो गीत गाइन्। समयक्रमसँगै शर्मा दार्जिलिङ अध्ययनमै रमाउँदा रमाउँदै गीतले चर्चा बटुल्यो। अरुणा लामा काठमाडौँ आइन्। ‘अरुणाः अन्तिम यात्रा’ एलबममा शर्माको यो गीत पनि समावेश भयो। अनि मुकुन्दराज शर्मा गीतकारमा स्थापित नाम हुन पुग्यो।
‘नेपाल टेलिभिजनले गरेको लाइभ कार्यक्रममा अरुणा दिदीले यो गीत पनि गाउनु भएको थियो,’ शर्माले भने।
आज पनि कतै कुनै मोडमा याँ साँझमा जब यो गीत सुन्न पुग्छन् शर्मा संगीतकार क्षेत्री र अरुणा लामालाई सम्झिन्छन्। उनी भन्छन्, ‘मणिकमल दाइसँग अहिले पनि कुरा हुन्छ, अलि अस्वस्थ हुनुुहुन्छ।’
शर्माले गीत लेखनमा बामे सर्दै गर्दा दार्जिलिङबाट गोपाल योञ्जन, अमर गुरुङ, दिव्य खालिङ रञ्जित गजमेर र पछि अरुणा लामा, जस्ता मुर्धुन्य कलाकार काठमाडौँमा जमिसकेका थिए। ‘संयोग भनौँ दार्जिलिङमा मणिकमल दाई, बद्रिदुर्गा खरेल,चन्दन लम्जेल दाईहरू हुनुहुन्थ्यो,’ उनले भने, ‘गायक संगीतकार खोज्दै म हिँडेको भए सायद म गीतकार पनि हुँदिनथिएँ हुँला। संयोगले मलाई खोज्नेहरूको संगतले गीतकार बनेँ।’
‘रेडियो नेपाल, अल इन्डिया र बिनाका गीतमालाले हामीलाई जेजस्ता गीत सुनाएँ तीनै गित हाम्रा जीवनका गीत भए।’
मूलघर (पहाडघर) चौरपानी प्युठान भए पनि धूमिल सम्झनाबाहेक धेरै याद छैन उनलाई जन्मघरको। बुवाको कामले बुवाआमासँगै भारतको असाम पुगे उनी र केही समय ‘डिगबोइ स्कुल’मा पढ्न पाए। त्यहाँ पुगेपछि उनको संगत रेडियोसँग बढी भयो। रेडियो अल इन्डिया, विविध भारती र विणाको मालाले हिन्दी फिल्मका गीत खुबै बजाउँथ्यो। त्यसको प्रभाव विस्तारै पर्दै गएसँगै गीतको असली स्रोता भए शर्मा। भन्छन्, ‘त्यो समय रेडियो मात्र त एउटा माध्यम थियो, जसले गीत सुनाउँथ्यो। लता किशोर कुमारहरूको गीत एकनासले बज्थ्यो।’
असाममा पनि धेरै बस्न पाएनन् शर्मा। फेरि उनी नेपाल कपिलबस्तु फर्किए। तौलिहवाबाट २०३८ सालमा एसएलसी दिएका शर्माले रेडियो नेपालबाट बज्ने गीत पनि सुने। विस्तारै गीत लेखनतिर आकर्षित भए। ‘तौलिहवा पनि धेरै बस्न पाइनँ। जहाँ पुगे पनि माटो, समाज, स्थानीय लोकगीत र संस्कृतिसँग जबजब भिज्न थाल्थेँ अनि मेरो यात्रा सुरु हुन्थ्यो। एसएलसी दिएपछि म दार्जिलिङ जानु पर्यो पढ्न,’ उनले भने, ‘रेडियो नेपाल, अल इन्डिया र बिणाका मालाले हामीलाई जेजस्ता गीत सुनाएँ तीनै गित हाम्रा जीवनका गीत भए।’
दार्जिलिङबाट स्नातक सकेर उनी काठमाडौं फर्किए र त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरी शिक्षण पेशामा आबद्ध भए। २०४४ सालदेखि ललितपुरस्थित ‘लिटल एञ्जल स्कुल’को प्राचार्यका रूपमा जोडिए। ३७ वर्षदेखि जीवन चलाउन शिक्षण पेशा गरे पनि साहित्यबाट उनी टाढिएका छैनन्।
गणितका शिक्षक भए पनि उनले निरन्तर साहित्य लेखे। गीत लेखे। २०३९ तिरबाटै दार्जिलिङबाट प्रकाशित हुने पत्रपत्रिकामा उनी रचनाहरू प्रकाशन गरिरहन्थे। त्यसको प्रभावले पनि दार्जिलिङका स्रष्टाको आँखामा उनी परे। उनी भन्छन्, ‘मेरो जीवनमा धेरै यात्रा भयो तर साहित्यसँगसँगै रह्यो। गीतले मलाई डोर्याइरह्यो ।
उसो त उनले २०४७ सालबाटै निबन्ध लेखनमा लागेका थिए। तर संयोग भनौँ— रामकृष्ण ढकालले गाएको ‘हिउँचुलीमा हिँउ बग्यो’ बोलको गीतले उनलाई पुनः गीतकै दुनियाँमा फर्कायो। ‘गीतसँगै निबन्ध लेखन पनि सँगसँगै लैजाऔँ भन्दै थिएँ अचानक रामकृष्ण ढकालले हिमचिउमा बोलका गीत गाउनु भयो हिट भयो। अनि फेरि मेरो मौजा नै फेरियो। म अर्को टोलमा आएँ। तर निबन्ध यथावतै छ।’
चार दशकदेखि गीत लेखनमा रमाउँदै आएका शर्माको पछिल्लो निबन्ध संग्रह ‘धोविघाट मेलोडी’चर्चामा छ। यसअघि ‘शब्द शिविर’ निबन्ध संग्रह प्रकाशनमा ल्याएका थिए। उनी भन्छन्— २०५१ साल यता त गद्य साहित्य त रोकेरै राखेको थिएँ त्यसैले अहिले दुई निबन्ध छोट्टो समयमा ल्याएँ।’
कहिलेकाही गीत बन्न समय लाग्छ तर कहिलेकाहीँ दश मिनेटमा लेखेको गीतले जीवनमा उछाल ल्याइदिन्छ हिँउचुलीमा हिउँ बग्यो गीत यस्तै थियो शर्माको।
तीन दर्जनभन्दा बढी गीत लेखेका शर्माले प्रेमभाव सम्बन्धी बढी गीत लेखे। यम बरालको स्वरमा ‘हेर्दा ख्लायैख्यालैमा, तिम्रो आँखी तालैमा’ बोलेका गीत ट्युन तयार भइसकेपछि लेखेका थिए।
‘बनमाराले बनै खायो….’ बोलको गीतको किस्सा पनि उनले सम्झिए, ‘संगीतकार आलोक श्रीले एलबमको तयारीमा हुुँनुहुँदोरहेछ मेरो भागमा दोयट गीत परेको छ समेत भन्नुभयो। म हौसिएँ। अबेर राति लेखेँ— ‘बनमाराले बनै खायो…’
‘गीत पठाएँ। संगीतकार श्रीले कम्पोज गर्नुभयो। संयोगले उदित नारायाणले गाइदिनुभयो। चर्चित भयो,’ उनले ती दिन सम्झिए, ‘बढीमा ३५ मिनेटमा यो गीत तयार पारेको थिएँ।’
शर्माका गीतमा प्रायः मौलिक बिम्ब हुन्छन्। उनी बिम्बसँग जीवनको लय मिसाउँछन् र दैनिक जीवनमा हुने प्रेम मिसाउँछन्। ‘बिम्बबाट त सौन्दर्य निर्माण गर्ने हो नि,’ शर्माले भने।
कहिलेकाही गीत बन्न समय लाग्छ तर कहिलेकाहीँ दश मिनेटमा लेखेको गीतले जीवनमा उछाल ल्याइदिन्छ हिँउचुलीमा हिउँ बग्यो गीत यस्तै थियो शर्माको।
शर्माका गीतमा प्रायः मौलिक बिम्ब हुन्छन्। उनी बिम्बसँग जीवनको लय मिसाउँछन् र दैनिक जीवनमा हुने प्रेम मिसाउँछन्। ‘बिम्बबाट त सौन्दर्य निर्माण गर्ने हो नि,’ शर्माले भने।
गायक रवीन शर्मादेखि नयाँ पुस्ताका विश्व नेपाली, शिवानी मोक्तानसम्मले उनको गीत गाएका छन् र पनि त्यस्तो धेरै सिर्जना छन् जो अधकल्चो भएर हराए। तर कुनै कुनै सिर्जना मुस्किलले जन्मिन्छ र बिम्बको सौन्दर्यमा स्थापित हुन पुग्छ यस्तै गीत हो—बनमाराले बनै खायो र हिउँचिलीमा हिउँ बग्यो।
मौलिक बिम्बमा प्रेम मिसाउन माहिर गीतको छवी बनाएको शर्मा यो संसारको जिउने अडिने आधार भनेको प्रेम ठान्छन, ‘प्रेम भएन भने भरोसा सकिन्छ, उत्साह सकिन्छ हाँसो सकिन्छ। अनि त जीवन कष्टकर हुन्छ। हुन त गीतमा प्रेम युवायुवतीमा केन्द्रित छन् तर प्रेम त्यति मात्रै पनि होइन। प्रेम मन हो र व्यवहार पनि हो,’ उनले भने, ‘सृष्टि अडिनुको नाभी प्रेम हो भन्ने लाग्छ।’
संगीतलाई मुुटुको धड्कन धड्काउने अक्सिजन ठान्ने शर्माका लागि गीतमा जति बिकृति आए पनि विस्तारै छानिने विश्वास सुनाउँछन्, ‘अहिले लहडमा पनि गीत निकाल्ने मास बढेको छ। बिस्तारै छानिन्छन्। सधैं बाँच्ने गीतहरू बिस्तारै छानिन्छन् र सदा बाहार सुनिन्छन् ।’
पूरा भिडियो हेर्नुहोस्: