माघ १८ धनगढी
प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका आठ जना बिहीबार रिहा भएका छन् । इजरायल र हमासबीच जनवरी १५ मा भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार ८ जना रिहा भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासले ५ जना थाई र ३ जना इजरायली नागरिकलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा रिहा गरेको हो ।
सट्टामा इजरायलले पनि बिहीबार साँझ ११० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ । बिहीबार साँझ हमासले तेस्रोपटक ८ जना बन्धकलाई मुक्त गरेको हो । यसअघि हमासले पहिलो दिन जनवरी १९ मा ३ जना, दोस्रोपटक जनवरी २५ मा ४ जनालाई रिहा गरेको थियो । सबै गर्दा अहिलेसम्म उसले आफ्नो नियन्त्रणमा रहेकामध्ये १५ जनालाई मुक्त गरिसकेको छ ।
युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जनालाई छाड्नुपर्नेछ । अब चौथो चरणमा विपिन जोशी पनि छुट्ने अपेक्षा इजरायलमा रहेका राजदूत धनप्रसाद पण्डितले गरेका छन् ।
विपिनका बुवा महानन्द जोशी अब विपिनका लागि धेरै पर्खिन सक्ने अवस्थामा आफूहरु नरहेको बताउँछन । उनले विपिनसँगै बन्धक गरेर लगिएका थाई नागरिक छुट्दा विपिनको रिहाइ नभएको बताए । ‘किन यस्तो भइरहेको छ भनेर हामीले बुझ्ने कुरा भएन,’ विपिनका बुवाले भने, ‘हामी विपिनलाई पर्खिरहेका छौं । सबैका तर्फबाट थप पहल भइदिए हुन्थ्यो ।’