बालबालिकामा घट्दै पठन संस्कृति : शिक्षक, अभिभावक कति दोषी ?

फागुन ४ धनगढी
यशोदा बोहरा घरमा खालि समय हुँदा मोबाइल चलाउने, भिडियो हेर्ने गर्थिन । तर, पछिल्लो ३ दिन यता भने उनी कथा लेखनको साधना गरिरहेका छिन । अत्तरियामा रहेको गोदावरी आविष्कार केन्द्रले तीन दिने कथा लेखन कार्यशालाको आयोजना गरेपछि उनी पनि त्यसमा मन लागि नलागी सहभागी भइन । तर, अहिले उनको ध्यान कथा लेखनमा मात्रै मोडिएको छैन उनी कथा अध्ययन गर्ने पनि बनेकी छिन । ‘कथा लेख्न पनि के सिक्ने होला जस्तो लागेको थियो’ अत्तरियाकै एक निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत यशोदाले भनिन् ‘मेमले कक्षा कोठामा तीन जना कथा लेख्ने तालिममा सहभागी हुन उठ्नुस् भन्नुभयो । त्यसपछि कोही नउठेपछि म उठ्नु प¥यो ।’ उनले पहिला खासै रुचि नभए पनि अहिले कथा लेखनका बारेमा जानकारी पाएपछि भने कथा लेखिरहूँ लाग्ने गरेको बताइन् । ‘कथा सुन्दा निदाउने म अहिले निद्रामा पनि कथा सोचिरहेकी हुन्छु’ उनले भनिन् ‘मैले ३ दिनमै दुई वटा कथा लेखिसकेकी छु । समाजका बारेमा कथा मार्फत लेख्न पाउँदा निकै खुसी लागेको छ ।’

पछिल्लो समय बालबालिकामा पठन संस्कृति घटेको आरोप लाग्ने गरेको बेला बालबालिकालाई राम्रो वातावरण र मार्गदर्शन दिएको खण्डमा पढ्ने मात्रै होइन लेख्न सक्ने पनि हुन्छन् भन्ने एक उदाहरण हुन यशोदा । कथा लेखक प्रशिक्षक विजयराज आचार्यले अहिले अभिभावक, शिक्षक आफू बिग्रेर बालबालिका बिग्रे भनेर पन्छिने गरेको बताउन्छन । शिक्षक अभिभावकले सही वातावरण नदिएर बालबालिका गलत बाटोमा लागेका हुन भन्ने तर्फ सोच्न आवश्यक रहेको उनी बताउन्छन । ‘अहिले छोराछोरीबाट आमाबुवा डराउनु पर्ने अवस्था छ अहिलेका केटाकेटी पढ्दैनन्, मोबाइलमा भुल्छन् भनिन्छ’ उनले भने ‘यो सत्य होइन । किनकि बालबालिका जस्तो वातावरण दिइयो यस्तै बन्ने हुन । बालबालिकाले पढेनन्, मोबाइल चलाए भनिछ । तर, तिनै अभिभावक घरमा दिनभर युट्युब, टिकटक चलाउने, टेलिभिजन हेर्छन् । जसले बालबालिकाको पढ्ने वातावरण विगार्छन । कुनै पनि बालबालिका अभिभावकको कारण बाहेक आफ्नै कारणले बिग्रिँदैन ।’

उनले अभिभावक मात्रै नभएर शिक्षक पनि बिग्रेको बताए । ‘शिक्षकहरू अहिले अध्ययन नै गर्दैनन् । एक छिन खाली समय पाउने बित्तिकै मोबाइल चलाउन्छन’ उनले भने ‘अहिले कोभिड पछि बालबालिकाको पढाइ ध्वस्त भयो भनिन्छ । तर, कोभिड पछि बालबालिका होइनन् अभिभावक, शिक्षक ध्वस्त भएका छन् ।’ उनले कथा लेखनमा रुचि नै नभएका बालक पनि तीन दिन प्रशिक्षण दिँदा २ हजार शब्दको कथा लेख्न सक्ने भएको बताउँदै यसले वातावरण बालबालिकाको लागि जस्तो बनायो त्यस्तै बन्ने कुराको पुष्टि हुने बताए । उनले अभिभावक शिक्षक गलत संस्कार अपनाउँदा बालबालिकाको संस्कार बिग्रिरहेको बताए । बालकको आचरण जस्तो बनाउन चाहन्छौ त्यस्तै आचरण आफ्नो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्प राज जोशी विश्वमा विकसित भइरहेको प्रविधिको सदुपयोग कसरी गर्ने भन्ने चुनौती रहेको बताउन्छन । ‘प्रविधिको प्रयोग नै नगर्ने हो भने अन्धकारमा धकेलिने अवस्था छ’ उनले भने ‘प्रविधिको प्रयोग गर्ने हो भने त्यसको दुरुपयोग हुन सक्ने चुनौती छ । त्यसका लागि प्रविधिको सही सदुपयोग बालबालिकालाई गराउनको लागि शिक्षक र अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ ।’ उनले बालबालिकामा संस्कार, सभ्यताको विकास गर्न आवश्यक रहेको बताए ।

गोदावरी आविष्कार केन्द्रका सचिव मदन राज भट्टले अहिले प्रविधिको प्रयोग बढे पनि त्यसलाई शिक्षा र दैनिक जीवन सँग जोड्न नसकिएको बताउन्छन । ‘अहिले मोबाइल विना हामी अधुरा भइसकेका छौ । यदि हाम्रो हातमा मोबाइल हुँदैन भने हामी छटपटाउन थाल्छौ’ उनले भने ‘त्यही मोबाइलले बालबालिकाको शिक्षामा सहज गराउन सक्छ । तर, त्यसका लागि सही सदुपयोग गर्न पनि सिकाउनु पर्छ ।’ उनले बालबालिकालाई प्रविधि प्रयोग गराउँदा अभिभावक शिक्षकको निगरानी हुन आवश्यक रहेको बताए ।

होलिल्याण्ड माविकी प्रिन्सिपल लक्ष्मी चन्द समय परिस्थिति अनुसार चल्न आवश्यक भए पनि संस्कार विना अभिभावक, शिक्षक, बालबालिकाको जीवन अधुरो हुने बताउन्छिन । बालबालिकाको रुचि, आनीबानी बुझेर उनीहरू सँग व्यवहार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

खप्तड विद्या निकेतनका प्रिन्सिपल श्याम बहादुर खत्रीले बालबालिकालाई सही मार्गमा डो¥याउन अभिभावकले निभाउनुपर्ने भूमिकाका विषयमा सजक हुन आवश्यक रहेको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक सँगै अभिभावकको पनि अहम् भूमिका हुने बताए । ‘विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकको पनि अहम् भूमिका रहन्छ’ उनले भने ‘अभिभावकले बलियो संस्कार दिन सक्यो भने कुनै पनि विद्यार्थी बाटो बिराएर हिँड्दैन । विद्यार्थी लक्ष्यमा पुग्छ ।’ उनले विद्यार्थी ६–७ घण्टा मात्रै विद्यालयमा रहने र बाकी समय अभिभावक सँग रहने भएकाले विद्यार्थीको संस्कारको विकास परिवारबाट हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply