कृष्णपुर नगरपालिकाद्वारा वादी समुदायलाई खाद्यान्न वितरण, आत्मनिर्भरता र समावेशी विकासमा जोड

हेमा भट्ट – २०८१ चैत २९

कञ्चनपुर – कृष्णपुर नगरपालिकाले वादी समुदायको उत्थान र आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यसहित नगर भित्रका ६० घरधुरी वादी परिवारलाई ६० कट्टा चामल वितरण गरेको छ। वितरण कार्यक्रम नगर उपप्रमुख द्रौपती रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

वादी उत्थान विकास समिति नगरस्तरीय अध्यक्ष पदम राना वादीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २, ५ र ७ मा बसोबास गर्दै आएका वादी परिवारलाई नगरपालिकाबाट छुट्याइएको १ लाख रुपैयाँको बजेटबाट चामल खरिद गरी वितरण गरिएको हो।

नगर उपप्रमुख रानाले वादी समुदायको शिक्षादेखि स्वास्थ्य, रोजगार र आत्मनिर्भरता सुनिश्चित गर्न नगरपालिकाले आगामी दिनमा विशेष कार्यक्रम अघि ल्याउने बताइन्। उनले भनिन्, “खाद्यान्न वितरण मात्रै होइन, हामी दीर्घकालीन समाधानका लागि काम गर्दैछौं – शिक्षा, स्वास्थ्य र स्वरोजगारमा वादी समुदायलाई अगाडि बढाउने हाम्रो लक्ष्य हो।”

वादी समुदायका अध्यक्ष पदम रानाले खाद्यान्न अभावका कारण नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै यस्तो कार्यक्रम ल्याइएको जानकारी गराए। उनले भने, “हाम्रो समुदायमा अझै पनि आधारभूत आवश्यकतामा पहुँच छैन, यस्तो सहायताले जीवनयापन सहज हुन्छ।”

खाद्यान्न प्राप्त गरेका वादी परिवारहरुले नगर समितिको निर्णयप्रति सन्तोष व्यक्त गर्दै यसलाई समयसापेक्ष र आवश्यक कदम भएको बताए। नगर समितिले पनि राज्यबाट यस्ता समुदायको उत्थानका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र आवास सुनिश्चित गरिनु पर्नेमा जोड दिएको छ।

यस वितरण कार्यक्रमले वादी समुदायको तत्कालीन आवश्यकतामा राहत त दिएको छ, तर दीर्घकालीन रुपमा उनीहरूको सामाजिक, आर्थिक उत्थानका लागि राज्य र स्थानीय तहले समन्वयात्मक रुपमा कार्य गर्नु आजको आवश्यकता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply