वैशाख ९ धनगढी
कैलाली जिल्ला, गोदावरी नगरपालिका–६, लालपुरमा अवस्थित कल्प पाठशालाले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ। विद्यालयले आर्थिक अवस्था कमजोर, अपांग, असहाय तथा अध्ययनमा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले आवेदन माग गरेको हो।
विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेश जिमी साउँदका अनुसार, कक्षा १ देखि ८ सम्म प्रत्येक कक्षाबाट एक–एक जना गरी कुल ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। इच्छुक विद्यार्थीहरूले जुनसुकै स्थानबाट आवेदन दिन सक्नेछन्। छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूलाई विद्यालयले निःशुल्क अध्यापन गराउनेछ र सम्पूर्ण शैक्षिक खर्च विद्यालयले स्वयं बेहोर्नेछ।
साउँदका अनुसार आवेदन दिन चाहने विद्यार्थीहरूले निम्न कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
हाल अध्ययन गरिरहेको विद्यालयको प्रमाणपत्र र मार्कसिट,
विद्यार्थीको इएमआइएस (EMIS) कोड,
अपांगता भएका विद्यार्थीहरूले अपांगता परिचयपत्र वा वडा कार्यालयको सिफारिस पत्र,
आर्थिक अवस्था कमजोर वा गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूले सम्बन्धित पालिकाको सिफारिस पत्र।
विद्यालयले आवेदन बुझाउने अन्तिम मिति यही वैशाख २० गतेसम्म तय गरेको छ। त्यसपछाडि निवेदकहरूको लिखित परीक्षा तथा अन्तर्वार्ता प्रक्रियामार्फत छात्रवृत्तिका लागि छनोट गरिने विद्यालयले जनाएको छ।
