वैशाख ९ धनगढी
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसियल) नेपालको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत राजेश भट्टलाई नगर अध्यक्षमा चयन गरिएको छ। मंगलबार सम्पन्न अधिवेशनले भट्टको नेतृत्वमा ३७ सदस्यीय नगर कार्य समिति समेत गठन गरेको वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबीर धामी (तुफान) ले जानकारी दिए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य ओम विक्रम भट्ट (सरल), बेलौरी नगरका मेयर पोतिलाल चौधरी, वाईसियलका केन्द्रीय सचिवद्वय अर्जुनसिंह साउद र नवराज ऐर, जिल्ला इन्चार्ज तुफान, संयोजक तिलक जप्रेल लगायतका नेताहरूको उपस्थिति थियो। नेताहरूले नवगठित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै युवाहरूलाई देश र जनताको पक्षमा सक्रिय भूमिका खेल्न आह्वान गरेका थिए। यस अधिवेशनलाई वाईसियलको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा युवा नेतृत्वको अभिवृद्धिको संकेतका रूपमा लिइएको छ।
