वैशाख ९ धनगढी
बैतडीको दुर्गम पुर्चौंडी नगरपालिकामा सञ्चालन भएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार आठसय बढी लाभान्वित भएका छन् ।
पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीको आयोजनामा सञ्चालन भएको शिविरमा दुई हजार आठसय ६० जनाको स्वास्थ्य परीक्षण गरिएको पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।
बैतडी समाज कैलालीले आफ्नो बार्षिक नियमित कार्यक्रम अन्तर्गत यो बर्ष पुर्चौंडी नगरपालिकासंगको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको जनाएको छ ।
दुर्गम क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउन हरेक बर्ष शिविरको आयोजना गरिँदै आएको शिविर संयोजक गजेन्द्रबीर चन्दले बताउनुभयो ।
शिविरमा फिजिसियन डाक्टर चेतराज भट्ट, युरोलोजिष्ट डाक्टर जोनेश तिवारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नरबहादुर मौनी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रविन्द्र भट्ट, मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट, दन्तरोग विशेषज्ञ डाक्टर सन्तोषकुमार पाण्डे, मेडिकल अफिसर डाक्टर रोहित ठगुन्ना सहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।
यस्तै शिविरमा धनगढी नेत्रालयको नेत्र विशेषज्ञको टोलीले ३ सय ८७ जनाको आँखाको परीक्षण गरेको छ । आँखा परीक्षण अन्तर्गत ७५ जनाको शल्यक्रिया गरिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउनुभयो । आँखा शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त सहितको टोलीले सेवा दिएको हो ।
स्थानीयस्तरमै बिशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यल बैतडी समाज कैलालीसंगको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,“ स्थानीयस्तरमै नागरिकको स्वास्थ्य चेकजाँच र उपचारका लागि शिविरको आयोजना गरेका हौं । यसले केही हदसम्म भएपनि स्थानीय नागरिकहरुलाई सहज भएको छ । ”
