स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सहकार्य : विद्यार्थीलाई सिकाइको अवसर, उपचारमा छुट

हेमा भट्ट
वैशाख १० धनगढी
कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र महेन्द्रनगरको अमिटी कलेजबीच शैक्षिक तथा चिकित्सकीय सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ।

स्वस्तिक हस्पिटलका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी र अमिटी कलेजका प्रधानाध्यापक रवीन्द्र अवस्थीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार, कलेजका विद्यार्थी तथा कर्मचारीहरूलाई उपचारमा विशेष छुट सुविधा उपलब्ध गराइनेछ। साथै, मेडिकल कोर्समा अध्ययनरत विद्यार्थीहरूलाई अस्पतालमा प्रयोगात्मक अभ्यास, स्थलगत अवलोकन, इन्टर्नशिप, गेस्ट लेक्चर तथा अन्य शैक्षिक क्रियाकलापमा सहभागी हुने अवसर प्रदान गरिनेछ।


अध्यक्ष तिवारीका अनुसार, अस्पतालमा अध्ययनरत विद्यार्थीका परिवारका सदस्यहरूलाई पनि तोकिएको छुट सुविधा दिइनेछ। उनले भने, “हामीले नयाँ वर्षदेखि नयाँ व्यवस्थापनको साथ विभिन्न शैक्षिक संस्थासँग सहकार्य गर्ने नीति लिएका छौं।”

स्वस्तिक हस्पिटलले प्रदान गर्दै आएको सेवा सुविधामा २४ घण्टा आपतकालीन सेवा, आईसीयू, भेन्टिलेटर, विशेषज्ञ चिकित्सक सेवा, सर्जिकल सुविधा, न्यूरो शल्यक्रिया, स्त्रीरोग, बालरोग, हाडजोर्नी, चर्मरोग, मूत्ररोग लगायतका विशेषज्ञ सेवा, तथा नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगको व्यवस्थापन लगायतका सेवा समावेश छन्।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अमिटी कलेजले हाल स्नातक तहमा हेल्थ म्यानेजमेन्ट र बीबीए कार्यक्रम सञ्चालन गरिरहेको छ। हाल कलेजमा ५३३ जना विद्यार्थी अध्ययनरत छन्। सम्झौता कार्यान्वयनपछि दुवै संस्थाबीचको सहकार्यले शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई थप सबलीकरण गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply