हेमा भट्ट १३ बैशाख २०८२
धनगढी- राष्ट्रिय दलित पत्रकार संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन धनगढीमा सम्पन्न भएको छ। अधिवेशनबाट हिमेश विकलाई सर्वसम्मत प्रदेश अध्यक्ष चयन गरिएको छ। उपाध्यक्षमा सुरत सुनार, महिला उपाध्यक्षमा सोधा नेपाली, सचिवमा धनी कोली, सहसचिवमा रवि वड, र कोषाध्यक्षमा सरस्वती भूल चयन भएका छन्। साथै, सदस्यहरूमा मिलन नेपाली, सुरेन्द्र संगम, सीता विक, मनिषा सुनार र रवि भूल चयन भएका छन्।
धनगढीको निर्माण व्यवसायी संघ सभाहलमा सम्पन्न अधिवेशनको सभाध्यक्षता सुनिता विकले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिया र विशिष्ट अतिथिका रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा वक्ताहरूले दलित समुदायको हक–अधिकारका पक्षमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उपाध्यक्ष करन ताम्राकारले सुदूरपश्चिममा दलित पत्रकार संघको स्थायी कार्यालय निर्माणका लागि पटक–पटक प्रस्ताव राखे पनि प्रदेश सरकारले चासो नदिएको गुनासो राखे।
प्रदेश प्रमुख नजिर मियाले पछाडि पारिएका समुदायलाई सशक्त बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। उनले प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए।


आन्तरिक मामिला मन्त्री हिरा सार्कीले सञ्चारलाई लोकतन्त्रको चौथो अङ्गका रूपमा वर्णन गर्दै सरकार सधैं मिडिया अनुकूल काम गर्न तयार रहेको बताए। केन्द्रीय अध्यक्ष विनोद पहाडीले सुदूरपश्चिम प्रदेशमा दलित समुदायबाट प्रदेश प्रमुख र मन्त्री भएका प्रसङ्गलाई सकारात्मक उपलब्धि भन्दै सरकारको खुलेर प्रशंसा गरे।
अधिवेशनले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी दिनमा दलित समुदायको हक र अधिकारका लागि अझ सशक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जाहेर गरेको छ।


