“गाउँमा निःशुल्क शिविर, दुईसयको आँखाको ज्योति फर्कियो”

कञ्चनपुर, १४ बैशाख
बैतडीका दुर्गम गाउँहरुमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमार्फत दुबै पालिकामा गरेर दुईसय चार जनाको आँखाको ज्योति फर्किएको छ । शिवनाथमा सञ्चालन भएको दुई दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ४ सय ५० जनाले सेवा लिएका छन् । जसमध्ये १ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा १ सय १५ जनालाई निःशुल्क चश्मासमेत वितरण गरिएको छ ।
गाउँपालिकाबासीहरुलाई सहज होस भनेर विभिन्न संघसंस्थाहरुसंग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,“आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई स्थानीयस्तरमै निःशुल्क सेवा दिन शिविरको आयोजना गरेका हौं । शिविरमार्फत सेवा लिएका स्थानीयबासी खुसी भएका छन् ।”

शिविरमा बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टीमले सेवा दिएको थियो ।

शिविरमा शिवनाथका मात्रै नभएर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले समेत सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।

यस्तै पुर्चौडीमा सञ्चालन भएको आँखा शिविरमा ९१ जनाको आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा ५सय ३५ जनालाई औषधी वितरण र २ सय १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँमै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले हामीले बृहत स्वास्थ्य शिविरको आयोजना गरेका हौं। जसमा आँखाको चेकजाँचका साथै शल्यक्रिया पनि गरिएको हो । ”

पुर्चौडीमा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमार्फत २ हजार ८ सय नागरिक लाभान्वित भएका छन् ।शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयबासिन्दा खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply