पूर्व नगर प्रमुख हमालले आफ्ना नानीहरू सरकारी विद्यालयमा भर्ना, अटो चढेर आफैं पुगे महाकाली मावि

रैकवार खबर
१५ बैशाख २०८२
कृष्णपुर नगरपालिका–६ स्थित श्री महाकाली माध्यमिक विद्यालयमा पूर्व नगर प्रमुख कर्ण बहादुर हमालले आफ्ना तीन नानीहरू भर्ना गराएका छन्। हमाल आफैं अटो चढेर विद्यालयमा पुगेका थिए र विद्यार्थीहरूलाई भर्ना गरेका थिए।

पूर्व मेयर हमालले भने, “महाकाली मावि दिनप्रतिदिन शिक्षाको क्षेत्रमा अब्बल बन्दै गएको छ। यहाँका दक्ष शिक्षक, गुणस्तरीय शिक्षा, उत्कृष्ट भौतिक संरचना र बस सेवा जस्ता सुविधाले विद्यार्थीहरूलाई सहज बनाएको छ, त्यसैले मैले आफ्ना नानीहरू यहीं भर्ना गरें।”

उनले थपे, पुर्व “नगर प्रमुखको हैसियतले मैले अनुभव गरेँ कि नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरू शिक्षामा उत्कृष्टता हासिल गर्नुपर्छ। सबैभन्दा पहिले आफैंले सरकारी विद्यालयमा आफ्ना बच्चा भर्ना गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ। निजी विद्यालयमा आफ्ना बच्चा पढाएर अरुलाई सरकारी विद्यालयमा पढाउनुपर्छ भन्नु उचित हुँदैन।”

नानीहरू भर्ना गर्दा आफू अत्यन्त खुशी भएको बताउँदै हमालले शिक्षक र अभिभावकबीच राम्रो सम्बन्ध बनाइ उच्चस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए। साथै हाल भइरहेको शिक्षक आन्दोलनका सम्बन्धमा उनले भने, “शिक्षकहरूको जायज माग वार्ताबाट समाधान गर्नु उपयुक्त हुन्छ। सरकार र शिक्षकबीच चाँडै निष्कर्षमा पुग्न जरुरी छ।”

महाकाली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिन प्रसाद दहितले पनि शिक्षक आन्दोलन चलिरहेको भए तापनि विद्यालयमा भर्ना अभियान जारी रहेको जानकारी दिए। अध्यक्ष दहितले भने, “पूर्व मेयर हमालज्यूले आफ्ना नानीहरूलाई निजी विद्यालयबाट सरकारी विद्यालयमा ल्याउनु सकारात्मक सन्देश हो। हाम्रो विद्यालयमा दक्ष शिक्षक छन् र गुणस्तरीय शिक्षा प्रदान गरिन्छ।”

महाकाली माविमा शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ। विद्यालय दिनप्रतिदिन थप व्यवस्थित हुँदै गएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ।देशभर जारी शिक्षक आन्दोलनका बाबजुद महाकाली मावि व्यवस्थापन समितिले भर्ना अभियान सक्रिय रूपमा सञ्चालन गरेको छ। व्यवस्थापन समितिका अध्यक्ष अमिन प्रसाद दहितका अनुसार अहिलेसम्म शिक्षकहरूको मागप्रति सरकारको पर्याप्त ध्यानाकर्षण भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply