हेमा भट्ट
धनगढी वैशाख १८ – कैलालीको पथरी क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आफ्नो मौलिक संस्कृति झल्किने चरई पर्व यस वर्ष पनि परम्परागत ढंगले धुमधामसँग मनाएका छन्।
पर्वको अवसरमा थारू समुदायका अगुवा तथा भलमन्सा सिताराम चौधरीले चरई पर्व थारूहरूको पहिचान, परम्परा र प्रकृतिप्रतिको आस्था झल्काउने महत्वपूर्ण अवसर भएको बताए। उनका अनुसार नयाँ बाली भित्र्याएपछि मनाइने यो पर्वलाई ‘नयाँ अन्नको पूजा’ पनि भनिन्छ।
“चरई पर्व केवल एक धार्मिक अनुष्ठान होइन, यो हाम्रो अस्तित्वसँग जोडिएको संस्कृति हो,” चौधरीले बताए।
पर्वअन्तर्गत गाउँका धामी–गुरवाले पुर्खा र कुलदेवताहरूको पूजा गर्छन्। त्यसपछि ‘चरई’ अर्थात् बलि दिने परम्परा अनुसार परम्परागत विधिअनुसार पशुबलि दिइन्छ। यस अवसरमा पुरुष तथा महिलाहरूले रंगीन पहिरनमा नाचगान र गीतमार्फत हर्ष व्यक्त गर्छन्। मगर, हुर्रा लगायतका परम्परागत नृत्यले माहोल झनै सांस्कृतिक बनाएको छ।
भलमन्सा चौधरीले अहिलेको पुस्ताले पनि चरई जस्ता पर्वमा चासो देखाउन थालेकोमा खुशी व्यक्त गर्दै यसलाई संस्कृतिको पुनर्जागरणको संकेत माने। “हाम्रो भाषा, भेषभूषा र परम्परालाई जोगाउन सबै थारू दाजुभाइ–दिदीबहिनी एकजुट हुनु जरुरी छ,” उनले भने।
थारू समुदायले मनाउने यो पर्वले सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने स्थानीयवासीहरूको भनाइ छ।