रैकवार खबर वैशाख १९
धनगढी, सुदूरपश्चिम – अखिल नेपाल ट्रेड युनियन महासंघ, सुदूरपश्चिम प्रदेश समिति आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रदेशका विभिन्न स्थानहरूमा भव्यतापूर्वक र सभ्य तरिकाले मनाइएको छ।
कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैया बस्तिहरूमा र्याली, साङ्गीतिक कार्यक्रम र श्रमिक एकताको सन्देश फैलाउने विविध गतिविधिहरू सञ्चालन गरिए।


धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न धनगढी उपमहानगर क्षेत्रका दर्जनौं अटो रिक्सा चालक, मजदुर नेताहरू, ट्रेड युनियनका पदाधिकारीहरू लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ र सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। श्रमिकहरूको अधिकार, सुरक्षात्मक वातावरण तथा न्यूनतम पारिश्रमिक सुनिश्चितता लगायतका विषयमा गहिरो छलफल गरिएको थियो।


कञ्चनपुरमा मजदुर संघ गठन कञ्चनपुर जिल्लाको मुक्त कमैया बस्तीमा कृषि मजदुर संघ गठन गर्दै श्रमिक दिवस अवसरमा र्याली, कोडस, र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए। कार्यक्रमको नेतृत्व सुदूरपश्चिम प्रदेश अध्यक्ष इन्द्र बोहराको अध्यक्षतामा भएको हो। अध्यक्ष बोहराले श्रमिकहरूका लागि कानुनी अधिकार सुनिश्चित गर्न, श्रम ऐनको प्रभावकारी कार्यान्वयन तथा संगठित श्रमिक आन्दोलनको खाँचो औंल्याउँदै श्रमिक दिवसको महत्व व्याख्या गरे।
स्रोत: भरत न्यौपाने, अखिल नेपाल ट्रेड युनियन महासंघ, सुदूरपश्चिम प्रदेश
