वैशाख २० धनगढी
कैलालीको धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानका लालबहादुर चौधरीको अधिकांश समय तरकारी बारीमै बित्ने गर्छ । उनले बिगत लामो समयदेखि व्यावसायिक तरकारी गर्दे आएका छन् ।
व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेको उनी बताउँछन् । उनले भने,‘मैले बिगत १० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको छु । वार्षिक ४ लाख आम्दानी गर्छु ।’
उनले भने ‘मैले आठ कठ्ठा जग्गामा तरकारी खेती गर्ने गरेको छु । तरकारी खेतीबाटै भएको आम्दानीबाट छोराछोरीको पढाइ,घरखर्च धानेको छु । तरकारीखेतीबाट भएको आम्दानीबाट केही बचत पनि हुन्छ ।’
‘छ जनाको परिवार छ । घर खर्च राम्रै चल्छ । दैनिक आम्दानी हुन्छ । काम गर्न बाहिर जानु परेको छैन् । तरकारी खेतीबाट सन्तुष्ट छु’ चौधरीले भने ।
उनले बेमौसमी तथा बर्षे तरकारी लगाउने गरेको बताए । बेच्नमा त्यति धेरै समस्या नभएको उनको भनाइ छ । उनले भने ‘व्यापारी नआएको खण्डमा हामी हाट बजार लगेर बेच्छौँ । नभए व्यापारीहरु हाम्रो बारीबाटै थोकमा तरकारी लिएर जान्छन् । दैनिक १ हजार ५ सय देखि २ हजारसम्मको तरकारी बिक्री हुन्छ ।’
उनले भने ‘तरकारी लगेर जाने भनेको हाट बजार नै हो । हाट बजारमा थोक व्यापारी नपाएको खण्डमा कहिले काहीँ समस्या हुन्छ ।’
मेहनत गर्न सके तरकारी खेतीबाटै राम्रो आम्दानी लिन सकिने उनले बताए । उनले भने ‘तरकारी खेतीमा मेहनत बढी लाग्छ । आम्दानी पनि राम्रो छ । तरकारी खेती ग¥यो भने घरखर्च चलाउनकै लागि अन्य काम गर्नु पर्दैन् ।’
