एसईई आईडल सिजन ४’ को सेमिफाइनल सम्पन्न, जेठ १ मा नतिजा सार्वजनिक हुने

धनगढी, बैशाख २० — सुदूरपश्चिम प्रदेशस्तरीय गायन तथा नृत्य रियालिटी शो ‘एसईई आईडल सिजन ४’ को सेमिफाइनल चरण शनिबार धनगढीमा सम्पन्न भएको छ।

धनगढीस्थित होटल पौवामा आयोजित कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीले गरेका थिए। ‘एसईई आईडल’ प्रतियोगिता विगत चार वर्षदेखि एसईई दिने विद्यार्थीहरूको कला उजागर गर्न उद्देश्यसहित आयोजना हुँदै आएको हो।

गायन र नृत्य विधामा विभाजित प्रतियोगिताका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयहरूमा अडिसन सम्पन्न गरिएको थियो। अडिसन चरण पार गरेका सहभागीहरूलाई सेमिफाइनलमार्फत अन्तिम प्रतिस्पर्धाका लागि छानिएको आयोजकले जनाएको छ। दुबै विधाबाट उत्कृष्ट प्रदर्शन गर्ने गरी १५–१५ जना प्रतियोगीहरूलाई फाइनल चरणमा प्रवेश गराइएको छ।

कार्यक्रममा नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी मुडभरी, एसपीए क्याम्पसका प्रमुख योगराज गौतम, एलायन्स इन्टरनेशनल स्कुलका अध्यक्ष उत्तम भण्डारी, चैतन्य शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरी, सामाजिक अभियन्ता भरतविक्रम शाह, सिजी ग्रुपका सुदूरपश्चिम प्रमुख नेत्र अर्याललगायत विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सेमिफाइनलमा भौतिक उपस्थितिमा भोटिङ पनि गरिएको थियो। साथै, एसईई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई ‘नमस्ते’ सिम निःशुल्क वितरण गरिएको थियो।

प्रतियोगिताको मुख्य प्रायोजन वाईवाई चाउचाउ, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, रेडिकल र नेपाल टेलिकमले गरेका छन्। यस्तै विभिन्न सञ्चारमाध्यम र संस्थाहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ। सेमिफाइनलको नतिजा आगामी जेठ १ गते सार्वजनिक गरिनेछ।

कार्यक्रमका सभापति तथा प्रभात मिडियाका सञ्चालक प्रकाश छेडालले दुरदराजका विद्यार्थीलाई मञ्चमा ल्याउनु ठूलो उपलब्धि भएको बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply