गणेश क्षेत्री
धनगढी – खक्रौला, कैलाली — नेपाल–भारत सिमा क्षेत्र खक्रौलाबाट १६ वर्षीय युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। जानकी गाउँपालिका–९ खैरिफाँटा बस्ने चेतन खड्कालाई ५ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
प्रहरीले जनाएअनुसार खड्कालाई शंका लागी चेकजाँच गर्दा जिन्सको पाइन्टको खल्तिमा प्लास्टिकको पोका भित्र लुकाइ छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारिएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरको सूचना संकलन टोली र कालाकुन्डा प्रहरी चौकीको संयुक्त टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक ईश्वर देव गिरीले जानकारी दिनुभयो।
पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ। निरीक्षक गिरीले लागुऔषध नियन्त्रणमा प्रहरी अहोरात्र खटिएको उल्लेख गर्दै यसमा शून्य सहनशीलता अपनाइएको बताए। साथै, लागुऔषध नियन्त्रणमा अभिभावक र नागरिक समाजको सहयोग अपरिहार्य रहेको पनि गिरीले बताए।
