हेमा भट्ट धनगढी २२ बैशाख
कृष्णपुर, कञ्चनपुर —शिक्षामा गुणस्तर अभिवृद्धिको प्रयासस्वरूप कृष्णपुर नगरपालिकास्थित शिक्षकहरूले आफू उदाहरण बन्ने प्रयास गरेका छन्। ‘शिक्षक शिक्षाको मेरुदण्ड हुन्’ भन्ने भनाइलाई सार्थकता दिँदै उनीहरूले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै भर्ना गराएका छन्।
कृष्णपुर नगरपालिका स्थित कञ्चन माविका प्रधानाध्यापक कर्मराज चौधरीका छोरा अनुपराज चौधरी र भतिजा आयुष चौधरी दुर्गालक्ष्मी नमुना मावि, गोदावरी (कैलाली) मा कक्षा ८ मा भर्ना भएका छन्। त्यस्तै, सहायक प्रधानाध्यापक चक्र पालका छोरा अनिश पाल सोही विद्यालयमा कक्षा ४ मा पढ्न थालेका छन्।
यसैगरी, शिक्षिका पुष्पा भट्ट, हरिना पण्डित र शिक्षक अमित रानाका सन्तान गेटास्थित सरस्वती माविमा भर्ना भएका छन्। शिक्षक मिलन रानाका बाबु विणा मावि (कृष्णपुर–८) मा अध्ययनरत छन् ।


कृष्णपुर–६ स्थित सरस्वती माविका प्रधानाध्यापक तारानाथ ओझाले नगरपालिकाको निर्णयलाई मध्यनजर गर्दै आफ्ना छोरा कृष ओझालाई निजी विद्यालयबाट निकालेर दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएका छन्। नेतृत्वकर्ताबाट आएको यो कदमले सरकारी शिक्षाप्रति विश्वास बढाएको छ।
यस कदमको मूल उद्देश्य भनेकै ‘सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ’ भन्ने सन्देश दिनु हो। अहिले अधिकांश अभिभावक निजी विद्यालयतर्फ आकर्षित भइरहेका बेला सरकारी शिक्षकहरूले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्नु आफैंमा एक सशक्त सन्देश हो।
प्रधानाध्यापक चौधरीका अनुसार, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको सहमति र कार्यपालिकाको निर्णयअनुसार यो पहल गरिएको हो। “हामीले गुणस्तर शिक्षक, आवश्यक पूर्वाधार र समुचित वातावरण भएका सरकारी विद्यालय छानेका हौं,” शिक्षकहरूले बताएका छन्।
नगरप्रमुख ओझाले पनि यो कदमलाई स्वागत गर्दै शिक्षामा सुधार ल्याउने उद्देश्यका लागि शिक्षकहरूबाट भएको यस्तो क्रिया ‘प्रेरणादायी प्रयास’ भएको बताएका छन्।


कृष्णपुर नगरपालिकास्थित समैजी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा दुर्गालक्ष्मीकी शिक्षिका हसीना जोशीले आफ्नी छोरीलाई निजी विद्यालयबाट निकालेर दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा भर्ना गराएकी छन्। सरकारी विद्यालयमा जागिर खाने तर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने प्रवृत्ति गलत भएको बताउँदै उनले उदाहरणीय कदम चालेकी हुन्। सरकारी विद्यालयको गुणस्तरमा सुधार भइ रहेकोले अरू अभिभावकलाई प्रेरणा दिने उद्देश्यले यस्तो निर्णय गरेको जोशीले बताइन्।
यद्यपि, केही शिक्षकहरूले भने आफू कार्यरत विद्यालयमै सन्तान पठाउने चाहना हुँदाहुँदै पनि घरबाट टाढा पर्ने भएकाले बाध्यतावश अन्य सरकारी विद्यालयमा भर्ना गरिएको उल्लेख गरेका छन्। निजी विद्यालयमा हैन, दूरीका हिसाबले सहज भएका सरकारी विद्यालय रोज्नु नै उनीहरूको प्राथमिकता रहेको स्पष्ट पारिएको छ।


शिक्षकहरूको यो कदमले सरकारी विद्यालयप्रति जनविश्वास पुनःस्थापना गर्ने, निजी र सरकारी विद्यालयबीचको खाडल घटाउने र गुणस्तरीय शिक्षा प्रणालीका लागि थप सुधार र लगानी आवश्यक छ भन्ने सन्देश दिन्छ। यस्तो क्रियाले शिक्षाका अन्य सरोकारवालाहरूलाई पनि नयाँ सोच र दृष्टिकोण प्रदान गर्नेछ।
भर्ना प्रक्रियामा सहयोग गरेकामा दुर्गालक्ष्मी नमुना मा.वि.ले कृष्णपुर नगरपालिकाका कञ्चन मावि र सरस्वती मावि र समैजी माविका ेप्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूलाई विद्यालयमा भर्ना प्रक्रियामा सहभागी गराई सहयोग पुर्याएकोमा विशेष धन्यवाद व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक इन्द्र बोहराले दुर्गालक्ष्मीलाई विश्वास गरी रोज्नु भएकोमा आभार प्रकट गरे।






