वडाध्यक्ष साउदले गरे छोरीलाई सरकारी विद्यालयमा भर्ना

कञ्चनपुर, २३ बैशाख

कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नी छोरीलाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेका छन्। शिक्षा क्षेत्रमा सुधार ल्याउने अभियानअन्तर्गत साउदले छोरी आरोही साउदलाई उदय माध्यामिक विद्यालयमा कक्षा ३ मा भर्ना गराएका हुन्।

नगरपालिकाले चालु शैक्षिक सत्र २०८२ देखि जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति ल्याएको छ। उक्त निर्णयको उदाहरणीय पालन गर्दै वडाध्यक्ष साउदले आफ्नै छोरीलाई सरकारी विद्यालयमा भर्ना गरेका हुन्।

साउदले यसअघि आफूले अध्ययन गरेको सोही विद्यालयमा छोरीलाई भर्ना गर्दा निकै खुसी लागेको बताए। “मैले पढेको विद्यालयमा अब मेरी छोरी पनि पढ्नेछिन्,” उनले भने, “यसले समुदायमा सकारात्मक सन्देश जानेछ।” साउद विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन् र हाल वडाको तर्फबाट अभिभावक प्रतिनिधिको जिम्मेवारीमा छन्।

नगर प्रमुख हेमराज ओझाले सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि गर्दै सामुदायिक शिक्षा सुदृढ पार्न यो नीति ल्याइएको जनाएका छन्। नगरपालिकाको कडाइका साथ लागू गरिएको यस निर्णयअनुसार हाल जनप्रतिनिधिहरू, शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयहरूमा भर्ना गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका वडाध्यक्ष साउदले गुणस्तरीय शिक्षा सबैको पहुँचमा हुनुपर्नेमा जोड दिएका छन्। “शिक्षा भनेको सुविधा होइन, अधिकार हो,” उनले भने, “त्यसैले सबै बच्चाहरूले समान गुणस्तरको शिक्षा पाउनु पर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply