उदय माविका विद्यार्थीलाई नेपाली सेनाबाट एनसीसी तालिम

धनगढी २५ बैशाख
कंचनपुर कृष्णपुरनगरपालिका–२ स्थित श्री उदय माध्यमिक विद्यालयका विद्यार्थीलाई यस वर्षको राष्ट्रिय सेवा दल (एनसीसी) तालिम प्रदान गर्ने भएको छ। राष्ट्रप्रेम, अनुशासन र सामाजिक उत्तरदायित्वका भावना अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाली सेनाले हरेक वर्ष देशभरका विद्यार्थीलाई यो तालिम प्रदान गर्दै आएको छ।

श्री श्रीदल गुल्म, भगतपुर भिमदत्तनगर ब्यारेकको संयोजनमा जेठ २५ गतेबाट सुरु हुने तालिममा ३० जना विद्यार्थीको सहभागिता रहनेछ। विद्यालयका अनुसार, छनोट प्रक्रिया स्वास्थ्य परीक्षण, उचाइ र तौलजस्ता शारीरिक मापदण्डमा आधारित हुनेछ। कक्षा ८, ९ र १० मा अध्ययनरत १४–१६ वर्ष उमेर समुहका विद्यार्थी यो तालिमका लागि योग्य हुनेछन्।

वि.व्य.स. अध्यक्ष तथा साहित्यकार दिपेन्द्र पाल (सिर्जन श्री) का अनुसार, “यो तालिमले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनेछ, जसले उनीहरूलाई असल नागरिक बन्न प्रेरित गर्नेछ।”

शारीरिक सक्षमता र स्वास्थ्य परीक्षण पश्चात छनोट गरिएका विद्यार्थीहरूलाई ७९ दिने संस्थागत तालिम र २१ दिने क्याम्प तालिम दिइनेछ। संस्थागत तालिम विद्यालयमै सञ्चालन हुने भने क्याम्प तालिम मोरङ, नवलपरासी वा बाँकेको विशेष स्थलहरूमा हुनेछ।

तालिममा सहभागी उत्कृष्ट क्याडेट तथा विद्यालयलाई शिल्ड, मेडल र राष्ट्रिय स्तरका पुरस्कार प्रदान गरिनेछ। साथै, दक्ष विद्यार्थीहरूले भारत, श्रीलंका, भुटान, पाकिस्तानजस्ता मित्र राष्ट्रका युवा आदानप्रदान कार्यक्रममा पनि सहभागिता जनाउन पाउने छन्।

विद्यालयका प्रअ बम्मन रानाका अनुसार, “उदय माविले नगरदेखि प्रदेशस्तरसम्मका प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै आएको छ, र यस तालिमबाट विद्यार्थीहरू थप अनुशासित, जिम्मेवार र राष्ट्रप्रेमी बन्नेछन।”

कृष्णपुर वडा नं २ का अध्यक्ष अर्जुन साउँदले यस वर्ष कृष्णपुर नगरपालिका क्षेत्रबाट मात्र उदय मावि तालिमका लागि छनोटमा परेको जनाए।

एनसीसी तालिमको पृष्ठभूमि:

विक्रम संवत २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले अहिलेसम्म एक लाखभन्दा बढी विद्यार्थीलाई तालिम दिइसकेको छ। यही प्रशिक्षण लिनेहरूमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply