अष्टम सहकारीको एकीकरण दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कृष्ण केसी
बैशाख २७ धनगढी
बाँके -राप्ती सोनारी अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड, राप्ती सोनारी–८, बाँकेले आफ्नो एकीकरण दिवसको अवसरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “मर्यादित सहकारी, समुन्नत समाज : रक्तदान जीवन दान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा १५२ जना रक्तदाताहरूले रगत दान गरेका छन्।

साताव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका सदस्य, स्थानीय युवा, स्वास्थ्यकर्मी, समाजसेवी तथा विभिन्न पेशागत व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रवक्ता तथा संस्थाका मुख्य प्रबन्धक हरिश्चन्द्र केसीले रक्तदान कार्यक्रम अष्टम सहकारीको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धताको प्रतीक भएको बताउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र सहकार्यको भावना बलियो बनाउने उल्लेख गर्नुभयो।
केसीले सहकारी संस्था आर्थिक समृद्धिसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रसर हुनु पर्नेमा जोड दिनुभयो। उहाँले रक्तदानजस्ता सेवा मूलक कार्यहरूले समाजमा एकता, सहयोग र मानवतावादी चेतना फैलाउने बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले नियमित रक्तदानको आवश्यकता र लाभबारे सहभागीहरूलाई जानकारी गराएका थिए। रक्तदानमा सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।

नेपालकै इतिहासमा आठवटा साना किसान सहकारी संस्थाहरूको एकीकरणबाट स्थापना भएको अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले हालै थप तीन सहकारी संस्थालाई समावेश गरी ११ सहकारीको एकीकरण सम्पन्न गरेको छ। सहकारी एकीकरण अभियानको उदाहरणीय मोडेलका रूपमा अष्टम सहकारीले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply