बैतडी, सुर्नया – बैतडी जिल्लाको सुर्नया गाउँपालिका–४ निवासी युवा सामाजिक अभियन्ता तथा उद्यमी विशाल भट्ट राष्ट्रिय युवा परिषद्को संघीय राष्ट्रिय युवा सञ्जालको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। यो पद मुलुकभरका युवाको प्रतिनिधित्व गर्ने एक अत्यन्त महत्वपूर्ण र जिम्मेवारीपूर्ण भूमिका हो।

नेपाल सरकार अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद् देशभरका युवाहरूका आवाजलाई नीति निर्माणमा जोड्ने थलो हो। यस्तो संस्थामा विशाल भट्टको निर्विरोध चयन हुनु उनको लामो सामाजिक सेवा र नेतृत्व क्षमताको प्रमाण हो।
भट्टले सामाजिक अभियानको यात्रा १३/१४ वर्षको उमेरमै ‘सूर्नया बालसञ्जाल’ स्थापना गरेर सुरु गरेका थिए। ती बेला बालबालिका र किशोर–किशोरीहरूबीच सचेतना फैलाउने उद्देश्यले सुरु गरिएको अभियानले उनीभित्रको नेतृत्व क्षमता उजागर गर्यो। उनले विभिन्न विद्यालय, सामुदायिक संस्था, र स्थानीय सरकारसँग समन्वय गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने पहलहरूमा सक्रियता देखाउँदै आएका छन्।
व्यवसायिक रूपमा पनि उनी सफल युवा उद्यमी हुन्। १८ वर्षको उमेरमै उद्यमशिलताको यात्रा सुरु गरेका भट्टले हालसम्म १०–१५ जना युवालाई रोजगार दिने गरी व्यवसाय विस्तार गरेका छन्। आत्मनिर्भरता र सृजनशीलताको नमुना बनेका उनी “देशमै केही गर्न सकिन्छ” भन्ने दृष्टिकोणका साथ युवा उत्प्रेरणाको स्रोत बनेका छन्।
सुदूरपश्चिम जस्तो विकासको दृष्टिले पछाडि परेको क्षेत्रबाट राष्ट्रिय तहको नेतृत्वमा पुग्न सफल विशाल भट्टको यो यात्रा क्षेत्रीय प्रतिनिधित्वको सशक्त उदाहरण पनि हो। उनीजस्ता युवाको सक्रियता र सहभागिताले देशको समग्र विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिन्छ। विशाल भट्टको यो सफलता न केवल व्यक्तिगत उपलब्धि हो, यो सम्पूर्ण सुदूरपश्चिम र देशभरका युवाहरूका लागि प्रेरणाको श्रोत हो।
सानै उमेरदेखि समाज रूपान्तरणमा सक्रिय, युवा उद्यमशिलताको प्रेरक प्रतीक
