द्रौपती भट्ट
बैतडी – त्यो दिन, हावा केही फरक थियो—न त धेरै चिसो, न त तातो। त्यसमा एक किसिमको मौनता मिसिएको थियो, जुन केवल आत्माले मात्र महसुस गर्न सक्थ्यो।
म एक्लै हिँडिरहेकी थिएँ—वनतिर, मोबाइलको क्यामेरा थिचें, सोचें, “एउटा सानो भिडीयो बनाउँछु।” तर त्यो भिडीयोले के देखायो भने, केवल अगाडिको बाटो होइन; उसले मेरो मनभित्र दबिएर बसेका वर्षौं पुराना सम्झनाहरूलाई उज्यालोमा ल्यायो।
सामुन्ने साल र सल्लका रूखहरू थिए। हावामा पातहरू टकराइरहेका थिए—टन्न सुसाएको आवाज, जस्तो कि कसैले म भित्रै बोलिरहेको होस्। त्यही मौन संगीतमा, गुनाहरू—हाम्रो भाषामा जसलाई डाली घोरड भन्छौं—रूखका डालबीच लुकामारी खेल्दै थिए। त्यो दृश्य हेर्दा म अचेतै एक पुरानो संसारमा चिप्लिएँ—मेरो जन्म गाउँ।
म फर्किएँ ती बिहानहरूमा, जहाँ चिसो बतासमा घाँसको भारी काँधमा बोकेर हिँड्थेँ। चराहरूको चिरबिरले निद्रा खोसिन्थ्यो, र भोकभन्दा पहिले माटोको गन्धले पेट भरिन्थ्यो—माटोको त्यो गन्ध, जो आमाको चुल्होबाट निस्केको सागको वास्नासँग मिसिएको हुन्थ्यो।
म अझै पनि सम्झन्छु—मःहि भुट्ने त्यो गन्ध, काफल टिप्न डाँडा चढ्दाको उन्माद, अनि खोला किनारमा एँसेलु चुस्दै साथीहरूसँग बटारिएको हाँसो। म सोच्थेँ, म ती दिनहरू बिर्सिसकेकी छु। तर होइन—ती त हावामै लुकेर बसेका रहेछन्, बाटो हिँड्दा आफैंसँग बोल्न आइपुग्ने गरी।
अचानक म एक किसिमको मौनतामा हराएँ। अगाडि सालको वन थियो—साल र सल्लिका पातहरू, हावा चल्दा आपसमा टकराइरहेका थिए।
त्यो पल… मलाई लाग्यो, जीवन त यति शान्त पनि हुन सक्दोरहेछ। न दौडधूप थियो, न कोही हतारिएको। जुन साँझमा पर्खाल टेकेर बस्छ, केही नबोली धेरै कुरा भन्छ—त्यस्तै थियो त्यो क्षण। त्यही बेला जन्म गाउँको याद आयो।
भिडियो त केवल क्यामेराले खिचेको दृश्य हो भन्ने लाग्थ्यो। तर त्यो दिन बुझें—कहिलेकाहीँ क्यामेराले होइन, हावाले नै खिच्दोरहेछ मनको भिडीयो।
त्यो हावा, त्यो मौनता, त्यो सम्झना—ती सबै मिलेर जीवनको एउटा त्यस्तो पल बनाए, जसले मलाई सम्झायो:स्मृति भनेको कहिल्यै हराउँदैन, केवल एकपलको हावामा फेरि फर्किन जान्छ।
— द्रौपदी भट्ट
धन्यवाद !!