हेमा भट्ट २९ बैशाख २०८२
कञ्चनपुर – बेलौरी नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहहरूको नियमित मासिक बैठक सिंहपाल सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा सम्पन्न भएको छ। कुण्डा सब-डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत दिनेश यादव प्रमुख अतिथिका रूपमा बैठकमा सहभागी हुनु भयो।
बैठकमा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरूले आ–आफ्ना वन क्षेत्रका ताजा गतिविधिहरू, देखा परेका समस्याहरू र तिनको सम्भावित समाधानसम्बन्धी सुझावहरू प्रस्तुत गरेका थिए। प्रमुख अतिथि यादवले विषयवस्तुमा सहजीकरण गर्नुका साथै सहभागीहरूलाई व्यावहारिक सल्लाह तथा मार्गदर्शन दिनुभएको थियो।
कार्यक्रममा सीता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुनाराम चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो। बैठक अनुशासित र सकारात्मक वातावरणमा सञ्चालन भएको आयोजकले जनाएको छ।
सहभागीहरूले सामुदायिक वनको दिगो व्यवस्थापन र संरक्षणबारे आ–आफ्ना अनुभवहरू आदान–प्रदान गरेका थिए। उनीहरूको साझा धारणा अनुसार वातावरणीय सन्तुलन कायम गर्न सामुदायिक वनको भूमिका अझ महत्वपूर्ण बन्दै गएको स्पष्ट भएको छ। जनस्तरमा पनि दिगो वन व्यवस्थापनप्रतिको चासो र अपेक्षा बढ्दो छ भन्ने निष्कर्ष बैठकले प्रस्तुत गरेको छ।