हेमा भट्ट ३१ बैशाख २०८२
कञ्चनपुर “शिक्षा सबैको हक हो, सुविधा होइन।” यही मूल मन्त्रलाई आत्मसात् गर्दै कृष्णपुर नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षाको प्रवर्द्धनमा एक महत्वपूर्ण कदम चालेको छ। ऐन २०७५ र नियमावली २०७७ लाई व्यवहारमा उतार्न आयोजित प्रविधिकरण कार्यक्रमले नगरको शैक्षिक यात्रामा नयाँ दिशा देखाएको छ।
सामाजिक विकास कार्यालय, कञ्चनपुरको पहलमा सम्पन्न कार्यक्रमले न केवल स्थानीय सरकारको संकल्पलाई सुदृढ बनायो, तर शिक्षामा गुणस्तर र समावेशीता सुनिश्चित गर्ने बहसलाई पनि बलियो बनायो। नगरसभाको हल शिक्षाप्रेमीहरूको जमघटले भरिएको थियो—जनप्रतिनिधिदेखि शिक्षक, पत्रकारदेखि संघसंस्था, सबैको साझा आवाज थियो: “शिक्षा अब विकल्प होइन, बाध्यता हो।”


कार्यक्रममा शिक्षा मन्त्रालयद्वारा प्रस्तावित २०८१ सालको कार्ययोजना मस्यौदा प्रस्तुत गरियो, जसमा ‘शिक्षा सबैका लागि’ भन्ने अवधारणालाई व्यवहारिक कार्यनीतिमा रूपान्तरण गर्ने स्पष्ट दिशा दिइएको छ।
अन्तरक्रियात्मक छलफलमा विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गराउने, शैक्षिक गुणस्तरमा रूपान्तरण ल्याउने, र कमजोर आर्थिक पृष्ठभूमिका बालबालिकालाई राज्यबाट प्रत्यक्ष सहायता उपलब्ध गराउने प्रस्तावहरू प्राथमिकतामा परे। साथै, अभिभावकहरूको जिम्मेवारी, विद्यालय व्यवस्थापनको पारदर्शिता र अनुगमन प्रणालीलाई सशक्त बनाउने सवालमा समेत गहन विमर्श गरियो।


कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझाले सम्बोधन गर्दै भने, “हाम्रो नगर शिक्षामा लगानी गरिरहेको छैन, भविष्य निर्माण गरिरहेको छ।” शिक्षा विकासलाई समृद्ध नगरको मेरुदण्डको रूपमा चित्रण गर्दै उनले स्थानीय सरकारको प्रतिबद्धता दोहोर्याए।
गोपाल दत्त जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा खगेन्द्र प्रसाद भट्ट र उप–प्रमुख द्रौपदी राना उपस्थित थिए। विभिन्न वडाबाट वडा अध्यक्षहरू मोहन बस्नेत, खेम चौधरी, धर्म बहादुर सिंह, टेक पाण्डे, बाबूराम चौधरी, घुम्मन राना, दिनेश खड्का र कैलाश बलायरको सहभागिता उल्लेखनीय रह्यो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक, शिक्षक तथा पत्रकारहरूका साथ कार्यक्रममा सरोकारवालाहरूको उत्साहजनक उपस्थिति देखियो। सहभागिताले स्पष्ट संकेत गर्यो—शिक्षाको मूल थलो अब केन्द्र मात्र होइन, स्थानीय तह पनि हो।
यस ऐतिहासिक पहलले कृष्णपुर नगरलाई निःशुल्क, समावेशी र गुणस्तरीय शिक्षाको मार्गचित्रमा अग्रपंक्तिमा उभ्याउने विश्वास गरिएको छ।







