जेठ १ धनगढी
कञ्चनपुर-दार्चुला जिल्लाको महाकाली नगरपालिका–२, पण्डोराका २९ वर्षीय जमन सिंह कार्की क्यान्सर रोगसँग लडिरहेका छन्। तर, आर्थिक अभावका कारण उनको उपचारमा गम्भीर संकट उत्पन्न भएको छ।
हाल काठमाण्डौस्थित शिक्षण अस्पताल, महाराजगञ्जमा विगत चार महिनादेखि उपचाररत कार्कीको उपचारमा खर्च भएको रकम सकिएपछि परिवार उपचार जारी राख्न असमर्थ बनेको छ। किसान परिवारका छोरा कार्कीको उपचारमा लाखौँ रुपैयाँ खर्च भइसकेको र हाल उनीहरू ऋणमा डुबेका छन्।
“भएको पैसा उपचारमै सकियो, ऋण लिएर पनि चार महिना उपचार गर्यौं। अब त त्यो पनि सकियो। अस्पतालमा अझै धेरै खर्च लाग्ने भनिएको छ। अब कहाँबाट ल्याउने भनेर चिन्तामा छौं,” क्यान्सरपीडित कार्कीका भिनाजु सुरेश सिंह भण्डारीले बताए।
कञ्चनपुरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका पूर्व विद्यार्थी रहेका कार्की हाल बुटवलमा बसोबास गर्दै आएका थिए। उनको जीवनरक्षाका लागि परिवारले सबैमा आर्थिक सहयोगको अपिल गरेका छन्।
पीडितको परिवारले सहयोग गर्न चाहने इच्छुक महानुभावहरूले सिधा सम्पर्क गर्न वा आर्थिक सहयोग गर्न सक्ने अनुरोध गरेका छन्।