रैकवार खबर
डोटी, दिपायल — दलित समुदायको हकहितका लागि लामो समयदेखि सक्रिय एक अब्बल नेता प्रेम विसीले नेतृत्व गरेको राष्ट्रिय दलित अभियान अब औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ।
शनिबार माओवादी केन्द्रद्वारा डोटीको दिपायलमा आयोजना गरिएको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको विशाल जनसभामा प्रेम विसीले उक्त घोषणा गरेका हुन्। सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं उपस्थित थिए।
सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रका अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ले जनसभा पछि जानकारी दिँदै भने, “प्रेम विसीको राष्ट्रिय दलित अभियान औपचारिक रूपमा माओवादी केन्द्रमा समाहित भएको छ। यो दलित आन्दोलन र माओवादी आन्दोलनबीचको ऐतिहासिक सहकार्यको प्रतीक हो।”
जनसभामा आफ्नो धारणा व्यक्त गर्दै प्रेम विसीले भने, “दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रलाई बलियो बनाउनु अहिलेको ऐतिहासिक आवश्यकता हो। त्यसैले मैले मेरो अभियानलाई माओवादी केन्द्रमा समाहित गरेको छु।”
उनले थप स्पष्ट पारे, “देशको समग्र राजनीतिक निकास र उत्पीडित वर्गको मुक्ति अब केवल माओवादी केन्द्रले मात्र दिनसक्छ। हाम्रो अभियान अब यो साझा यात्राको हिस्सा हुनेछ।”
विसीको यो कदमले दलित आन्दोलन र मूलधारको राजनीतिबीच समन्वयलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
