हेमा भट्ट
कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ वाणी
स्वास्थ्य सेवा पहुँचमा विस्तार ल्याउने उद्देश्यले कृष्णपुर नगरपालिकाले एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य पहल अन्तर्गत निःशुल्क क्षयरोग (टी.बी.) स्क्रिनिङ्ग शिविर सञ्चालन गर्ने भएको छ।
यो शिविर २०८२ साल जेठ ६ गते, ग्वालावारी सामुदायिक वनको भवनमा आयोजना हुनेछ, जसमा बिहान १०:०० बजेदेखि सेवा उपलब्ध हुनेछ। कार्यक्रम स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोग र कृष्णपुर नगरपालिकाको आयोजनामा सञ्चालन गरिनेछ। शिविरमा कृत्रिम बुद्धिमत्ता (AI) जडित डिजिटल एक्सरे प्रविधिको प्रयोग गरेर क्षयरोगका लक्षण तथा सम्भावित संक्रमित व्यक्तिहरुको परीक्षण गरिनेछ।
कार्यक्रमको प्रमुख उद्देश्य भनेको समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरू पहिचान गरी समयमै उपचारमा ल्याउनु हो। क्षयरोग दीर्घकालीन र सर्ने खालको रोग भएकोले समयमै परीक्षण र उपचार अत्यन्त आवश्यक मानिन्छ।
कृष्णपुर वडा नं. २ का अध्यक्ष अर्जुन सिंह साउदले शिविरमा उपस्थित भई स्वास्थ्य सेवा लिन सबै स्थानवासीलाई अनुरोध गरेका छन्।
यस्तो प्रकारको पहलले दुर्गम तथा ग्रामीण क्षेत्रमा रोगको समयमै पहिचान र रोकथाम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
