सडक स्तरोन्नतीदेखि किसानलाई लालपुर्जा वितरणसम्म
कञ्चनपुर, ५ जेठ
शुक्लाफाँटा नगरपालिकाले मेयर रण बहादुर महराको नेतृत्वमा हालसम्मको तीन वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेको छ। नगरपालिकाले सोमबार पत्रकार सम्मेलनमार्फत पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, न्याय, सहकारी, प्रशासनलगायत विभिन्न क्षेत्रका योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमार्फत निर्वाचित मेयर महराले आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्दै भने, “निर्वाचनका बेला जनतासँग गरेका बाचा अनुरूप काम अघि बढाएका छौँ, धेरै योजना सम्पन्न भइसकेका छन् भने केही निरन्तर प्रक्रियामा छन्।”


उनका अनुसार नगरका १२ वटै वडामा सडक स्तरोन्नतीदेखि कालोपत्रे गरिएको छ। ८६ जना किसानलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ। सुरक्षित आवास कार्यक्रम अन्तर्गत २५३ विपन्न परिवारलाई प्रतिपरिवार ३० हजारका दरले अनुदान वितरण गरिएको छ।
नगर चक्रपथ खानेपानी योजना तीव्र गतिमा अघि बढेको, नगरस्तरीय कर्भडहल निर्माण सम्पन्न भएको, ३ सय सडक बत्तीमध्ये ११ वटा सोलार बत्ती जडान गरिएको, ६६ बोरिङ्ग निर्माण, २ वटा मल्टिस्पान पुल निर्माण, नगर अस्पतालको ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी गराइएको छ।
पर्यटन प्रवर्द्धनका लागि मणिकाधाम–बतासे झरना पदमार्ग निर्माण, योग भवन निर्माण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ८ किलोमिटर मेष वायर घेरबार, कृषि माविमा छात्रावास निर्माण, सामुदायिक पशु व्यवस्थापन कार्यक्रम, कृत्रिम गर्भाधान केन्द्र स्थापना, निःशुल्क खोप कार्यक्रमजस्ता सामाजिक पहलहरू सञ्चालन गरिएको छ।


यसैबीच ३० जना जन्मजात अपांगता भएका व्यक्तिहरूको पहिचान गरी तालिम सञ्चालन, एकल महिलालाई तालिम, ३ सयभन्दा बढी जेष्ठ नागरिकलाई परिचयपत्र वितरण, नगर प्रहरी गठन, अटो रिक्सा दर्ताका लागि कानुन निर्माण गर्दै ४४ अटो दर्ता गरिएको, ११ वटा रुटमा इजाजत प्रदान गरिएको उल्लेख गरिएको छ।
स्थानीय पाठ्यक्रम निर्माणदेखि विद्यालय भवन निर्माण, ३,३३७ नागरिकको निःशुल्क आँखा परीक्षण, ७६५ युवालाई रोजगारीमा समावेश गरिनु, नापजाँचमार्फत ऐलानी जग्गा व्यवस्थापनलगायत कार्यहरू समावेश छन्।
उपमेयर कमला पन्तले शुक्लाफाँटा नगरपालिकाले समावेशी र पारदर्शी ढंगले काम गर्दै आएको बताइन् भने प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले प्रशासनिक स्पष्टताअनुरूप योजनाहरू कार्यान्वयन गरिएको जानकारी दिए।
संविधान जारीपछिको दोस्रो स्थानीय सरकार भएको शुक्लाफाँटा नगरपालिका जिल्लामा पहिलोपटक तीन वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्ने स्थानीय निकाय बनेको छ।
