कञ्चनपुर- कृष्णपुर नगरपालिकामा हाल भइरहेको शिक्षक दरबन्दी मिलान तथा शैक्षिक सुधारका कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) ले स्वागत गर्दै नगर प्रमुखको निर्णयप्रति समर्थन जनाएको छ। माओवादी नगर इन्चार्ज दिपक खत्री (निर्माण) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नगर प्रमुखलाई भेटी उक्त निर्णय शैक्षिक गुणस्तर सुधारका लागि महत्वपूर्ण भन्दै बधाई दिएको हो।
माओवादी केन्द्रले दरबन्दी मिलान प्रक्रिया आइतबारसम्म निष्पक्ष, पारदर्शी र न्यायसंगत तरिकाले सम्पन्न हुनुपर्नेमा जोड दिएको छ। साथै कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा अवरोध भएमा सशक्त प्रतिवाद गरिने चेतावनीसमेत दिएको छ।
इन्चार्ज खत्रीले नगर प्रमुखको नेतृत्वमा लिइएको यो निर्णय सही लयमा रहेको भन्दै शैक्षिक सुधारको अभियानलाई माओवादीको निरन्तर समर्थन रहने स्पष्ट पारेका छन्। “हाम्रा छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा” भन्ने मूल नारालाई अघि सार्दै माओवादीले यसअघि पनि बारम्बार यस्ता सुधारका पक्षमा आवाज उठाउँदै आएको बताइएको छ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, समाजसेवी तथा बुद्धिजीवीहरूले पनि यो अभियानलाई समर्थन जनाएका छन्। विद्यालय व्यवस्थापन महासंघको तर्फबाट सुरेन्द्र धामी नेतृत्वको टोलीले पनि दरबन्दी मिलान र सुधार कार्यक्रमलाई सकारात्मक रूपमा अगाडि बढाउने पक्षमा धारणा राखेको छ।
यता, केही शिक्षा विरोधी तत्वहरूले मिडियामार्फत गलत प्रचार गर्दै भ्रम सिर्जना गर्न खोजेकोप्रति माओवादीले आपत्ति जनाएको छ। यसरी सामुदायिक विद्यालयको सुधारमा अवरोध सिर्जना गर्नु घातक हुने चेतावनी दिँदै उनीहरूले सबै पक्षलाई सहयोगी भूमिका खेल्न अपिल गरेका छन्।
पार्टीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यस विषयमा अहिलेसम्म स्पष्ट धारणा नदिएकोप्रति चिन्ता व्यक्त गरेको छ भने एमालेले भने खुला विरोध गरिरहेको बताउँदै त्यसलाई सामुदायिक विद्यालयप्रतिको दोहोरो चरित्रको रूपमा व्याख्या गरेको छ।
माओवादी केन्द्रले निष्पक्ष रुपमा दरबन्दी मिलान सम्पन्न गर्दै शिक्षा सुधारका प्रयासहरूलाई अविलम्ब कार्यान्वयनमा लैजान नगरपालिकालाई आग्रह गरेको छ।