गोदावरी नगरपालिका घेराउ: अवैध उत्खननविरुद्ध स्थानीयको आक्रोश

जेठ ८ धनगढी
कैलालीको गोदावरी नगरपालिका अन्तर्गत खैराना खोलामा भइरहेको अवैध उत्खननविरुद्ध स्थानीय बासिन्दाहरूले नगरपालिका कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन्। बिहीबार बिहानैदेखि आक्रोशित स्थानीयवासीले नगरपालिकाको गेट अगाडि धर्ना दिँदै नाराबाजी गरेका थिए।

उनीहरूको आरोप छ कि नगरपालिका स्वयंले ठेक्का सम्झौतामा तोकिएको क्षेत्रभन्दा बाहिर समेत उत्खनन गर्न दिने छुट दिएको छ, जसले खोलाको स्वरूप बिगारिरहेको छ र वर्षेनी बाढीको जोखिम बढाउँदै छ। स्थानीय प्रेम चौधरीले भने, “हामीले बारम्बार गुनासो गर्दा पनि नगरपालिका चुपचाप छ। त्यसैले आज हामी कार्यालय घेराउ गरेर हाम्रो आवाज सुनाउन आएका हौं।”

प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर, ‘अवैध उत्खनन बन्द गर’, ‘हाम्रो बस्ती जोगाउ’, ‘ठेकेदारलाई कारबाही गर’, ‘नगरपालिकाको आँखा खोल’ जस्ता नारा लगाएका थिए।

धर्नामा सहभागी महिलाहरू, वृद्धवृद्धा र युवाहरूको उपस्थिति उल्लेखनीय थियो। स्थानीय कमला विकले भनिन्, “नगरपालिकाले हामीजस्ता गरीबको पीडा बुझ्नुपर्छ। हामी बाँच्न चाहन्छौं, घर जोगाउन चाहन्छौं। नगरपालिका हाम्रो सुरक्षा सुनिश्चित गर्न असफल भयो।”

प्रदर्शनका क्रममा स्थानीय नेताहरूले चेतावनी दिएका छन् कि मागहरू पुरा नभएसम्म आन्दोलन थप सशक्त बनाइनेछ। उनीहरूले अवैध उत्खनन तत्काल बन्द गराउन, दोषी ठेकेदारलाई कारबाही गर्न र बाढी नियन्त्रणका लागि ठोस योजना ल्याउन नगरपालिकालाई सात दिनको अल्टिमेटमसमेत दिएका छन्।

यस आन्दोलनले अब गोदावरी नगरपालिकालाई जिम्मेवारी वहन गर्न बाध्य पार्ने जनअपेक्षा बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply