नेपालका कुप्रथाहरू विरुद्ध संस्कारशिरोमणि पण्डित गणेश प्रसाद पन्तको अभियान

किसन बहादुर विक
जेठ १२ धनगढी
नेपाल एक सांस्कृतिक विविधता बोकेको देश हो, जहाँ युगौँदेखि विभिन्न सामाजिक र धार्मिक प्रथाहरू चलिआएका छन्। यिनै प्रथाहरूमा कतिपयले समाजलाई एकताबद्ध बनाएको भए पनि, केहीले भने विभाजन, शोषण र अन्यायको बीउ रोपेका छन्। यस्ता कुप्रथाहरू विरुद्ध इतिहासमा विभिन्न व्यक्तित्वहरूले आवाज उठाउँदै आएका छन्। हालै बैतडी जिल्ला, पाटन नगरपालिका–८ खोड्पे निवासी संस्कारशिरोमणि, पञ्चाङ्गकार ज्योतिषीआचार्य पण्डित गणेश प्रसाद पन्तले पनि यस्तै कुरीतिहरू विरुद्ध महत्वपूर्ण कदम चाल्नुभएको छ।

पण्डित पन्तले दलित बस्तीहरूमा पुगेर साप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तु पूजा, गृहप्रवेश जस्ता सयभन्दा बढी धार्मिक कार्यहरू सञ्चालन गर्दै आउनुभएको छ। उहाँको यो अभियान जातीय छुवाछूत तथा धार्मिक आधारमा हुने भेदभावको अन्त्य गर्न र सामाजिक समरसता कायम राख्न प्रेरणादायी बनेको छ।

नेपालमा विभिन्न कालखण्डमा चलेका कुप्रथाहरूमा दासप्रथा, सतीप्रथा, हलिया, कमैया, कमलरी, देउकी, डंगुवा, कटवाल, छाउपडी, र छुवाछूत प्रथा उल्लेखनीय छन्।

दासप्रथा: कुनै व्यक्तिलाई जीवनभर मालिकको सेवामा बाँधिने प्रथा दासप्रथा हो। चन्द्र शमशेरले वि.सं. १९८१ मा यो प्रथा अन्त्यको घोषणा गर्नुभएको थियो, र १९८२ साल वैशाख १ गतेबाट यो कानूनी रूपमा अन्त्य गरिएको थियो।

सतीप्रथा: पतिको मृत्यु पश्चात पत्नीलाई समेत बलपूर्वक वा सामाजिक दबाबले सती बनाउने कुप्रथा पनि लामो समयसम्म चलनमा थियो। चन्द्र शमशेरकै नेतृत्वमा सन् १९२० मा यो प्रथा पूर्ण रूपमा बन्द गरिएको थियो।

देउकी प्रथा: कन्यालाई देवीको सेवा गर्न भनेर मन्दिरमा चढाउने प्रथा सुदूरपश्चिममा प्रचलित रहेको देउकी प्रथा हो। यो पनि बालबालिकाको भविष्यमा प्रतिकूल असर पार्ने कुरीति हो।

छाउपडी प्रथा: रजस्वलाका समयमा महिलालाई अलग राख्ने, गोठमा बसाल्ने, खानपिनमा रोक लगाउने छाउपडी प्रथा अझै पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा कायमै छ। यसले महिलाको स्वास्थ्य, आत्मसम्मान र जीवनमा गम्भीर असर पुर्याउने गरेको छ।

छुवाछूत प्रथा: सबैभन्दा बढी विभेदपूर्ण र अमानवीय कुप्रथा हो – जातीय छुवाछूत। यसले दलित समुदायलाई सामाजिक, धार्मिक र आर्थिक रूपमा पिछड्याउने काम गर्दै आएको छ। यद्यपि नेपालको संविधान र कानुनले जातीय छुवाछूतलाई सामाजिक अपराध मानेको छ, व्यवहारमा अझै पनि यो प्रथा गहिरोसँग जरा गाडेर बसेको देखिन्छ।

जेठ १२ गते, २०८२ मा खगेन्द्र सोनारको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा जातीय विभेदको विरुद्धमा गरिएको आन्दोलन होस् वा नवराज बिक जस्ता घटनाहरू, यी सबैले देखाउँछन् कि अझै धेरै काम गर्न बाँकी छ।

यस्ता कुप्रथाविरुद्ध आजको युगमा पनि पण्डित गणेश प्रसाद पन्तजस्ता विद्वान अगुवाहरूले धार्मिक कार्यमार्फत चेतना फैलाउँदै समाजमा परिवर्तन ल्याउने प्रयास गर्नु ऐतिहासिक र प्रशंसनीय छ। उहाँको भनाइ अनुसार, “जुनसुकै चुनौती आए पनि जातीय छुवाछूत जस्ता कुरीति हटाउन तयार छु”, भन्ने साहसपूर्ण अभिव्यक्ति आजको नेपाललाई साँच्चै चाहिएको सोच हो।

हामी सबैले पण्डित पन्तको यस अभियानलाई समर्थन गर्नुपर्छ र समाजमा व्याप्त कुनै पनि प्रकारको विभेद, शोषण र अन्याय विरुद्ध संगठित भएर उभिनु पर्दछ। किनकि परिवर्तन बाहिरबाट होइन, भित्रबाट सुरु हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply