जेठ १२ धनगढी
कैलालीको गोदावरी क्षेत्र, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वले भरिएको, अहिले अतिक्रमण र अव्यवस्थित विकासको पीडामा छटपटाइरहेको छ। स्थानीय, क्षेत्रीय र राष्ट्रिय नेताहरूका भाषणहरूमा यो क्षेत्रको नाम बारम्बार गुञ्जिए पनि, व्यवहारमा भने यथार्थ फरक छ। विकासका नाममा सार्वजनिक जमिन, ऐतिहासिक स्थान र प्राकृतिक स्रोतहरूको दोहन हुँदै गएको छ, तर जिम्मेवार निकायहरूको ध्यान त्यसतर्फ गम्भीरतापूर्वक गएको देखिँदैन।
आज गोदावरीका सार्वजनिक स्थलहरू निजी स्वार्थमा कब्जा हुँदै गएका छन्। चोक, बाटो, पार्क, जंगल सबैजसो क्षेत्रमा नियोजित अतिक्रमणको स्पष्ट रूप देखिन्छ। सार्वजनिक सम्पत्ति संरक्षण गर्नुको सट्टा, समाजमा नेताका रूपमा चिनिने व्यक्तिहरू पनि मौन दर्शक बनेका छन्। कतिपय अवस्थामा त उनीहरूकै संरक्षणमा अतिक्रमण हुने गरेको आरोप लाग्ने गरेको छ। गोदावरीकै माटोमा हुर्किएका, यहाँका पीडाबोध गरेका व्यक्तिहरू समेत यस्ता समस्यालाई केवल चिया पसलका गफमा सीमित राखिरहेका छन्, व्यवहारमा लागिपरेको देखिँदैन।
यो अवस्था केवल दुर्भाग्यपूर्ण होइन, चिन्ताजनक पनि हो। स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले जिम्मेवारीबाट पन्छिनु, वा अनदेखा गर्नु भविष्यमा अझ ठूलो संकट निम्त्याउने खतरा छ। सार्वजनिक क्षेत्रका योजना, संरचनात्मक विकासका खाका, र वातावरणीय सन्तुलनको गहिरो अध्ययन बिना हुने अनियोजित निर्माणले गोदावरीको मौलिकता गुम्ने अवस्था सृजना भइसकेको छ।
नेताहरूले कुन क्षेत्रलाई खुला सार्वजनिक स्थानका रूपमा संरक्षण गर्ने? कुन क्षेत्रमा सार्वजनिक भवन र सेवाहरू स्थापना गर्ने? कुन स्थानमा धार्मिक, सांस्कृतिक वा पर्यटन प्रवर्द्धनका संरचना निर्माण गर्ने? यस्ता विषयमा दीर्घकालीन सोच, जनसमावेशी छलफल, र पारदर्शी योजना आवश्यक छ। तर, यस्ता दृष्टिकोण नदेखिनु विडम्बनापूर्ण मात्र होइन, नेतृत्वको असफलताको प्रतीक हो।
आज आवश्यक छ—स्थानीय नेतृत्वले साहसिक कदम चालून्। साँचो अर्थमा “सार्वजनिक” हितमा नीतिहरू बनोस्, कार्यान्वयन होस्। गोदावरी जोगाउने जिम्मा केवल एउटा निकायको होइन, सम्पूर्ण समुदाय, नेतृवर्ग, र सचेत नागरिकहरूको हो। हामीले अब पनि आँखा चिम्लियौं भने, आगामी पुस्ताले गोदावरीलाई केवल किताबमा पढ्नुपर्ने दिन टाढा छैन।