खडक बहादुर कोली
जेठ १३ धनगढी
कञ्चनपुर भिमदत्त नगरपालिका १३ मा ऐलानी जग्गा नापजाँच कार्य औपचारिक रूपमा शुरु गरिएको छ। वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) को अगुवाइमा हात्तीसार क्षेत्रबाट मंगलबारदेखि नापजाँच सुरु गरिएको हो।
वडाध्यक्ष बोहराका अनुसार, लामो समयदेखि भूमिहिन, सुकुमबासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूलाई जमिनको स्वामित्व दिनका लागि यो प्रक्रिया अघि बढाइएको हो। “पहिला अव्यवस्थित बसोबासीको नापजाँच हुनेछ, त्यसपछि भूमिहिन दलित र सुकुमबासीका लागि जमिन खोजिनेछ,” उनले बताए।
वडा सचिव हर्क बहादुर धामीका अनुसार, अहिलेसम्म १३ जना भूमिहिन दलित, ३ जना सुकुमबासी र ३१८ जना अव्यवस्थित बसोबासीले फारम बुझाइसकेका छन्। अब नापजाँच पश्चात् आयोगमार्फत जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिनेछ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले सबै भूमिहिन र सुकुमबासी नागरिकलाई जमिनको मालिक बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। उनले नगरका सबै वडालाई भूमिको समस्या समाधानमा सक्रिय भएर लाग्न निर्देशन दिएका छन्।
यसअघि पनि भूमि समस्या समाधान आयोगमार्फत कञ्चनपुरका विभिन्न पालिकामा लालपुर्जा वितरण भइसकेको छ। नापजाँच कार्यको सुरुवातसँगै भीमदत्त–१३ का नागरिकहरू स्वामित्वको आशामा उत्साहित देखिएका छन्।