जेठ १४ धनगढी
बैशाख ९ गते एकाविहानै बेलडाँडी गाउँपालिका–३ कमरीका भैसीपालक किसान हरकिशन राना बेलौरी नगरपालिका–१०, शिवनगरस्थित निर्मल आर्यघाट नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परे । तर, घटना भएको एक महिनाभन्दा बढी समय वितिसक्दा पनि अनुसन्धानमा ठोस प्रगति नदेखिएपछि मृतकका परिवार, गाउँले तथा आम नागरिकले न्यायको गम्भीर चासो उठाएका छन् ।
घटनाको प्रारम्भिक अनुसन्धान देखिनै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली खटिएको थियो । तर, अहिलेसम्म कुनै ठोस विवरण सार्वजनिक गरिएको छैन । शंका गरिएका व्यक्तिहरूमाथि अनुसन्धान नगर्नु, परिवारको भनाइलाई बेवास्ता गर्नु, र राजनीतिक प्रभावका कारण अनुसन्धान प्रभावित भएको आरोपसमेत उठ्न थालेको छ ।
स्थानीयवासीका अनुसार बैशाख ८ गते राति करिब २–३ बजेतिर कहिल्यै नआउने प्रहरी टोली कमरी गाउँमा पुगेर विवाहमा बजिरहेको डीजे बन्द गर्न आग्रह गरे । सोही समयमा पहाडी समुदायका केही युवकहरू सोही समारोहमा प्रहरी संगसंगै “खाना देऊ” भन्दै पुगेको घटनालाई पनि शंकाको दृष्टिले हेरिएको छ ।
सोही गतिविधिको भोलिपल्ट बिहान हरकिशनको जलेको शव फेला पर्यो । प्रहरी स्रोतले समेत यो घटना ’रहस्यमय’ रहेको संकेत गरे पनि अहिलेसम्म दोषी पहिचानमा प्रगति भएको छैन । २८–३० जना व्यक्तिसँग सोधपुछ भइसकेको प्रहरीले जनाएको छ ।
केही समयअघि सुदूरपश्चिम प्रदेश सरकारले भैसीपालक किसान समूहका लागि पठाएको ४० लाख रुपैयाँ अनुदानमा विवाद देखिएको थियो । सोही अनुदान अन्तर्गत आउने रकम मध्ये १२ लाखको चेक हाकिमलाई मिलाउनका लागि र ४ लाख नगद बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले ’बहिनी सम्झेर’ मागेको आरोप किसान समूहले सार्वजनिक गरेका थिए । यस विषयमा दुईपटक पत्रकार सम्मेलन समेत गरिएको थियो ।
मृतक हरकिशन रानाले सो विवादमा आफूलाई धम्की आएको स्पष्ट रूपमा सार्वजनिक गर्दै आएका थिए । समूहले आरोप लगाएअनुसार उपाध्यक्ष नाथले लिएको १२ लाख रुपैयाँको चेक बेनामी भएको आरोप थियो । पछि त्यो चेक भीमदत्त नगरपालिका मटेना स्थित इन्द्रा नाथ नामकी महिलाको नाममा काटेको भेटियो । इन्द्राले भनिन् कि आफूले हरकिशनलाई चिनेकी पनि थिइनन्, तर बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथको दबाबमा चेक साट्न खोजेकी थिइन् । खातामा पैसा भेटिएन त्यसपछि उपाध्यक्ष नाथकै दवामा चेक बाउन्स गरेकी थिइन्, तर पछि पश्चाताप गर्दै सो कदम जानाजानी नभएको भन्दै उनले माफी मागेकी थिइन् ।
उनले थप भनिन् – “नाथको बारम्बारको दबाबले गर्दा आफुलाई प्राप्त चेक बाउन्स गराएँ तर केही दिनमै अपराधबोध भयो । त्यसैले बैंकलाई पत्र लेखेर चेक बाउन्स नगरिदिन भनेकी थिएँ ।” चेक बाउन्स नहुने भयो भनेर बैंकबाट हरकिशनलाई फोन आउदा राना यो के हुदैछ भनेर अचम्मित बनेका थिए ।
इन्द्राको रोदनसहितको अडियो र माफी माग्दै बोलेका संवादहरू अहिले पनि सुरक्षित छन्, जसले उक्त अनुदान प्रकरणमा राजनीतिक चलखेल र दबाबको स्पष्ट संकेत दिन्छ ।
१२ लाखको चेक लुकाउन र उल्टै रानालाई बदनाम गर्न ‘नक्कली मामा’ लाई उपाध्यक्ष शान्ति नाथले गरेको पत्रकार सम्मेलनमा सहभागि गराएका थिए । उक्त प्रेसमिटमै नक्कली मामाले मेरो भान्जीबाट पटकपटक रानाले कर्ज लिएको भनेका थिए । ती ‘मामा’ले हरकिशनकै घर पुगेर “गल्ती तिम्रो पनि हो, उपाध्यक्षलाई मिलाउने जिम्मा मेरो” भन्ने अडियोसमेत बाहिरिएको थियो अझै त्यो अडियो मिडियालाई सुरक्षित छ ।
मिडियामा सुरक्षित रहेको अडियोअनुसार, इन्द्राले आँसु झार्दै ‘गल्ती बाध्यतावश’ भएको बताएकी थिइन् । यसैबीच ‘नक्कली मामा’ बनेर हरकिशनमाथि बारम्बार ऋण लगाएको आरोपसमेत सार्वजनिक भएको थियो । ती व्यक्तिले नै शान्ति नाथसँग मिल्न र चेक प्रकरण घटनालाई दबाउन दबाब दिएको अडियो प्रमाण मिडियामा सुरक्षित छ ।
१२ लाखको चेक विषयमा बेलडाँडीका एमाले सहित ५ राजनितिक दल र स्थानीय बासिन्दाहरुले गाउँपालिका उपाध्यक्ष नाथलाई पालिका प्रवेश समेत निशेध गरे । केहि दिन उनलाई पालिका जान दिइएन् । लगातार ५, ७ दिनको आन्दोलन पछि आन्दोलनलाई राजनितिक करण गरि प्रमाण खोज्ने बिषयमा पछि आन्दोलन गर्ने गरि आन्दोलन दलहरुले स्थगितको घोषणा गरे सो स्थगित अझै सम्म रहेको छ । यता नेपाली काँग्रेसले १२ लाखको चेक कसको थियो के परियोजनमा आएको थियो भन्ने विषयमा ३ सदस्यीय छानवीन समिति बनायो, छानवीन समितले प्रतिवेदन तयार गर्यो तर त्यो प्रतिवेदन राजनितिक कारण सार्वजनिक गर्न दिइएन । यसले प्रष्ट के हुन्छ भने त्यति बेला देखिनै हरकिशनको न्याय लुटिदै आएको थियो ।
हरकिशनको रहस्यम मृत्युलाई लिएर परिवारले बारम्बार न्यायको माग गर्दै आएका छन् । प्रहरी प्रशासनले अनुदान विवाद जस्तो संवेदनशील विषयको अनुसन्धान नगरेको, प्रमाणहरू संकलनमा चासो नदेखाएको र पीडितका आफन्तहरूलाई अनावश्यक दुःख दिएको आरोप परिवारले लगाउँदै आएका छन् ।
“रानालाई न्याय नपाइए निर्मला पन्त प्रकरण दोहोरिने हो कि भन्ने त्रास बढ्दो छ,” तर प्रहरीले कुनै कदम नचालेको देख्दा आम बेलडाँडी बासी गहिरो चिन्तामा छन् ।
हरकिशन राना मेहनती, आत्मनिर्भर जनजाति समुदायका युवाशक्ति थिए । उनले देशमै बसेर केही गर्नुपर्छ भन्ने सपना देखेका थिए । यस्तो मान्छेको रहस्यमय मृत्यु भएपछि धेरैले स्वदेशमै केही गर्न नपाइने हो कि भन्ने निराशा व्यक्त गरेका छन् ।
“देशमै केही गरेर खान खोज्दा मृत्युको रहस्यमा गाडिनुपर्ने ? अब त विदेशिनु नै ठीक हो जस्तो लाग्छ,“ एक गाउँले युवा भन्छन् ।
हरकिशन रानाको मृत्यु रहस्य अझै उस्तै रहँदा पीडित परिवार, गाउँले र नागरिक समाज न्यायको पर्खाइमा छन् । अनुसन्धान यथाशीघ्र पारदर्शी र निष्पक्ष ढंगले अघि बढाइयोस् भन्ने आग्रह समाजभरबाट उठिरहेको छ । अनुसन्धानलाई राजनीतिक प्रभावबाट टाढा राख्दै सत्यतथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनलाई दबाब बढ्दो छ ।
यो केवल एउटा व्यक्तिको मृत्यु मात्र होइन, यो स्वदेशमै श्रम गरेर बाँच्न खोज्ने मान्छोको सपनाको हत्या पनि हो । राज्य संयन्त्र, राजनीतिक नेतृत्व र अनुसन्धान संयन्त्रले अब ढिलो नगरी सत्य बाहिर ल्याउने जिम्मेवारी पूरा गर्नुपर्छ ।