जेठ १५ धनगढी
शिक्षा र संस्कारको संगमका रूपमा चिनिएको चैतन्य पाठशालाले आयोजना गरेको ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढीमा भव्य रूपमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता शिवनगरस्थित चैतन्य पाठशालाको फुटसल मैदानमा भइरहेको छ।
कार्यक्रमको उद्घाटन ओलम्पियन तथा राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमटाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
सेंसर सिस्टममार्फत प्रतियोगिता सञ्चालन
चैतन्य तेक्वान्दो डोजाङको आयोजनामा गरिएको प्रतियोगिता आधुनिक सेन्सर प्रणालीमार्फत सञ्चालन भइरहेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट करिब २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।


चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विद्यालयले पूर्वमा नगर र जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस पटक प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको बताउनुभयो। उहाँले समाजका विविध पक्ष उजागर गर्दै आएको चैतन्यको भविष्यमा कार्यक्रम अझ वृहत रूपमा लैजाने योजना पनि सार्वजनिक गर्नुभयो।
खेलाडीलाई प्रेरणा र अवसर
मुख्य अतिथि दीपक विष्टले विद्यालयस्तरमै यस्ता प्रतियोगिता हुँदा खेलाडीमा आत्मविश्वास र क्षमताको विकास हुने बताउँदै, “देशमा खेलाडी छन्, तर अवसर छैन,” भन्नुभयो। पूर्व क्रिकेट प्रशिक्षक टमटाले पनि चैतन्य स्पोर्ट्स एकेडेमीलाई खेल सामग्री हस्तान्तरण गर्दै खेलको स्तरीकरणमा विद्यालयको योगदानप्रति प्रशंसा प्रकट गर्नुभयो।
विशेष सम्मान तथा पुरस्कार
कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान पु¥याएका वरिष्ठ गुरु गोविन्द विष्ट, शेरबहादुर सिंह र मोहन प्रताप गुरुङलाई जनही रु १०,०००, सम्मानपत्र र खादामालासहित सम्मान प्रदान गरिएको थियो। गोविन्द विष्ट सुदूरपश्चिममा तेक्वान्दोका प्रारम्भिक गुरुमध्ये एक मानिन्छन्। तर राज्यले उहाँलाई चिन्न नसकेकोप्रति आलोचना पनि गरिएको थियो।


आकर्षक पुरस्कार राशी
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई निम्नानुसार नगद पुरस्कार प्रदान गरिनेछ:
प्रथम टिम: रु ५०,०००
दोस्रो टिम: रु ३०,०००
तेस्रो टिम: रु २०,०००
त्यस्तै, महिला र पुरुषतर्फबाट उत्कृष्ट खेलाडी (Best Fighter) लाई जनही रु ५,००० पुरस्कार दिइनेछ।
चैतन्य स्पोर्ट्स एकेडेमीको स्थापना
चैतन्य पाठशालाले ‘चैतन्य स्पोर्ट्स एकेडेमी’ स्थापना गरी विद्यार्थीहरूलाई विभिन्न खेलकुदमा संलग्न गराउने, वृहत अवसर दिने उद्देश्य राखेको छ। विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई “वेद र विज्ञानको संयोजन” भनेर वर्णन गर्दै, समाजका लागि सचेत र सक्षम नागरिक उत्पादन गर्ने अभियानमा दृढ रहेको बताए।
प्रतियोगिता प्रारम्भदेखि नै प्रतिस्पर्धात्मक र उत्साहजनक वातावरणमा सञ्चालन भइरहेको छ। सहभागी खेलाडीहरूले तेक्वान्दोलाई राष्ट्रको सान भन्दै राज्यले यसको मूल्यांकन र संरक्षणमा थप चासो दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
