रिलिशा थारू
बर्दिया -गुलरिया नगरपालिका–५ बालापुरमा आज बिहान एक सात वर्षीय बालिकाको बाघको आक्रमणमा परेर मृत्यु भएको छ। बिहान करिब ८ बजेतिर विद्यालय जाँदै गरेकी सायरा चौधरीलाई शौचालय नजिकै बाघले आक्रमण गरी घिसार्दै जंगलतर्फ लगेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीयवासीका अनुसार पछिल्ला २–३ महिनादेखि बाघले पटक–पटक आक्रमण गर्दै आएको थियो। तर, सम्बन्धित निकायलाई बारम्बार जानकारी दिँदासमेत कुनै कारवाही वा प्रतिक्रिया नआएको उनीहरूको गुनासो छ। “हामीले धेरैपटक वन कार्यालयलाई खबर गर्यौं, तर उनीहरूले वास्ता गरेनन्,” एक स्थानीय बासिन्दाले बताए।
बालिकाको शव हालसम्म अस्पतालमै राखिएको छ। पीडित परिवारले भनेका छन्, “जबसम्म बाघ नियन्त्रणमा आउँदैन, तबसम्म हामी शव बुझ्दैनौं।”
बाघलाई नियन्त्रणमा लिनका लागि हाल दुईवटा हात्ती परिचालन गरिएको जनाइएको छ।
क्रोधित स्थानीयले चेतावनी दिएका छन्, “अब या त बाघ नियन्त्रण गर्नुहोस्, होइन भने हामीलाई बाघ मार्ने अनुमति दिनुहोस्।”
