जेठ १७ धनगढी
कञ्चनपुर – कृष्णपुर तेक्वान्दो प्रशिक्षक गुरु प्रशान्त चौधरीले कृष्णपुर नगरपालिकाप्रति गुनासो पोखेका छन्। उनले रैकवार खबर दैनिक मार्फत आवाज उठाउँदै भनेका छन्, “नगरपालिकाले भलिबल र फुटबल मात्र खेल हो भन्नेजस्तो व्यवहार गर्दै आएको छ, तर तेक्वान्दोजस्ता अन्तर्राष्ट्रिय स्तरका खेललाई बेवास्ता गरिएको छ।”
गुरु चौधरीका अनुसार तेक्वान्दो खेल २०७५ सालदेखि कृष्णपुर नगरपालिका–८ मा अवस्थित खेलमैदानमा निरन्तर अभ्यास हुँदै आएको छ। उनले आफ्नो खर्चमा, आफ्नो मेहनतमा स्थानीय बालबालिकादेखि युवासम्मलाई तेक्वान्दो सिकाउँदै आएका छन्।
उनले दुखेसो व्यक्त गर्दै भने, “हाम्रो वडा, हाम्रो नगरपालिकाबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा पुगेका खेलाडी छन्, जस्तै गुरु दीपक बिष्ट, जसलाई विश्वले चिन्छ, तर नगरपालिकाले कहिल्यै सम्मान गर्न सकेन।”
नगरपालिकाले बर्षेनी वडा स्तरदेखि नगर स्तरसम्म फुटबल र भलिबल प्रतियोगिता आयोजना गर्दै आएको भए पनि तेक्वान्दो खेलको कुनै कार्यक्रम कहिल्यै नगरिएको चौधरीको भनाइ छ।
उनले प्रश्न गरे, “के तेक्वान्दो खेल होइन? के अनुशासन, आत्मबल र आत्मरक्षाको खेललाई हामी बेवास्ता गर्न सक्छौं?”
उनको माग स्पष्ट छ – समान अवसर र तेक्वान्दो खेलाडीलाई पनि उतिकै मान्यता। उनले भने, “हामी महँगो पूर्वाधार होइन, अवसर मागिरहेका छौं। हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय पदक जित्न सक्छन्, यदि स्थानीय तहले साथ दियो भने।”
गुरु प्रशान्त चौधरीको भनाइ अनुसार तेक्वान्दोमार्फत दर्जनौं बालबालिका अनुशासित जीवन बाँच्न सिकेका छन्। उनले भने, “तेक्वान्दो खेल आत्मरक्षा मात्र होइन, जीवन पथ नै परिवर्तन गर्ने साधन हो। नगरपालिकाले अब पनि ध्यान नदिए, भविष्यका प्रतिभाहरू गुम्ने छन्।”
उनको यो आवाज केवल गुनासो हैन, एक चेतावनी पनि हो – स्थानीय सरकारको नीतिमा समानताको सवाल उठाउने एउटा सशक्त उदाहरण हाे । चौधरी भन्छन् हाम्रै नगरका छोरी–छोरालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने खेल किन ओझेलमा?तेक्वान्दो केवल खेल हैन, यो अनुशासन हो, यो आत्मरक्षा हो, यो आत्मबल हो। यो गुनासो होइन, यो हृदयको आवाज हो। स्थानीय तहका नीति निर्माता र खेलकुद समिति सबैले गम्भीरतापूर्वक लिनु पर्ने आवाज हो। यदि खेलाडीको सपना अझ अगाडि बढाउन चाहन्छौं भने फुटबल र भलिबलसँगै तेक्वान्दोलाई पनि नगरस्तरीय खेलको प्राथमिकतामा राख्नुपर्ने उनलेे बताए ।