१८ जेठ २०८२
कञ्चनपुर – कृष्णपुर नगरपालिका–४ का किसानहरूलाई पावर टिलर दिने लोभ देखाएर ठूलो रकम असुलेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा र उनका सहयोगी सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, अभियुक्तहरूलाई शनिबार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याइएको हो। प्रहरीका अनुसार, खड्काको नेतृत्वमा रहेको समूहले किसानहरूबाट प्रतिव्यक्ति ५० हजारदेखि १ लाख रुपैयाँसम्म अनुदान रकम उठाएको थियो।
वडा अध्यक्षकै सक्रियतामा जाहेरी र पक्राउ
यस घटनाको सुरुआत कृष्णपुर नगरपालिका–४ का वडा अध्यक्ष धर्मबहादुर सिंहको सक्रिय पहलबाट भएको हो। किसानहरूले ठगिएको गुनासो गरेपछि सिंहले आफैं जाहेरी दर्ता गरी अनुसन्धानको प्रक्रिया अघि बढाएका थिए। त्यसपछि वडा सदस्य तथा प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली काठमाडौं पुगेर अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो।
वडा अध्यक्ष सिंहले भने, “यो मेरो व्यक्तिगत वा वडाको मात्र होइन, सम्पूर्ण कृष्णपुर क्षेत्रका किसानको पक्षमा गरिएको पहल हो।” उनले टिकट, खाना र यात्राको खर्च समेत निजी रूपमा बेहोरेको जानकारी दिएका छन्।
केही किसानलाई टिलर, अधिकांशलाई आश्वासन मात्रै
प्रहरी अनुसन्धानका अनुसार, खड्काको समूहले देखावटी रूपमा केही किसानलाई पावर टिलर वितरण गरे पनि अधिकांश किसानहरूले अहिलेसम्म टिलर प्राप्त गरेका छैनन्। विभिन्न व्यक्ति, सहकारी तथा समूहमार्फत रकम उठाउने योजना बनाइएको देखिएको छ।
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले भने, “कृष्णपुर–४ का वडा अध्यक्षको निवेदनका आधारमा हामीले यो मुद्दालाई गम्भीरताका साथ लिएका छौं। प्रारम्भिक अनुसन्धानमा ठगी पुष्टि भएको छ र अहिले थप अनुसन्धान जारी छ।
