जेठ १८ धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले दश महिनामा ३३ दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म कुल विनियोजित बजेटमध्ये १० अर्ब ४७ करोड चार लाख खर्च गरेको हो ।
चालु आवमा विनियोजित कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाखमध्ये चालुतर्फ पाँच अर्ब ६० करोड ३५ लाख र पुँजीगततर्फ चार अर्ब ८६ लाख ६९ हजार बजेट खर्च भएको सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख प्रदेश लेखा नियन्त्रक वाशुदेव जोशीले जानकारी दिए ।
उनका अनुसार चालु आवमा चालुचतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख बजेट विनियोजन भएको थियो ।
चालु आवमा मुख्यमन्त्री तथा मन्त्री परिपद्को कार्यालयले ३१ करोड ४१ लाख बजेटमध्ये १४ करोड ३९ लाख,आर्थिक मामिला मन्त्रालयले २० करोड २४ लाखमध्ये नौ करोड ६० लाख र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले एक अर्ब ९१ करोड ७३ लाखमध्ये ७८ करोड ६० लाख बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक जोशीले जानकारी दिए ।
उनका अनुसार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब ८५ करोड ७१ लाखमध्ये ७० करोड ८७ लाख,आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३६ करोड ४७ लाख मध्ये चार करोड ७५ लाख र भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ अर्ब ६६ करोड ८३ लाख बजेटमध्ये चार अर्ब ५१ करोड ८० लाख बजेट खर्च गरेको छ ।
त्यस्तै,सामाजिक विकास मन्त्रालयले छ अर्ब ७१ करोड ४८ लाखमध्ये दुई अर्ब ३६ करोड ९० लाख,प्रदेश व्यवस्थापिकाले १८ करोड १७ लाखमध्ये १२ करोड १२ लाख,प्रदेश योजना आयोगले चार करोड ३१ लाखमध्ये एक करोड ७२ लाख र प्रदेश लोक सेवा आयोगले ७२ लाख ५८ हजार बजेटमध्ये ३९ लाख २३ हजार खर्च गरको प्रदेश लेखा नियन्त्रक जोशीले जानकारी दिए ।
उनले भने “चालु आवमा दुई महिना ढिला गरि बजेट आयो । यसले पनि खर्चमा प्रभाव पारेको छ । यस वर्ष पुजीगततर्फको बजेट खर्च कम भएको छ । असार मसान्तसम्म ६० प्रतिशतको हाराहारीमा बजेट खर्च हुने अनुमान गरेका छौँ ।”
सरकारमा आएको फेरबदलले गर्दा सुदूरपश्चिम प्रदेश सरकारले चालु आवमा दुई महिना पछाडि अर्थात गत भदौ ३१ गते बजेट ल्याएको थियो ।
गत आव २०८०/८१ मा प्रदेश सरकारले कुल विनियोजित बजेट २९ अर्ब २८ करोड ६६ लाखमध्ये १८ अर्ब ५१ करोड ३५ लाख अर्थात ६३ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
