जेठ १८ धनगढी
कञ्चनपुर —कृष्णपुर नगरपालिकाको आयोजनामा गुलरिया मैदानमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गतको आजको खेल अत्यन्तै रोमाञ्चक रह्यो। कृष्णपुर–२ र कृष्णपुर–३ बीच भएको खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै दर्शकलाई उत्साहित बनाएका थिए।
खेलको प्रारम्भदेखि नै दुवै टिम आक्रामक रणनीतिमा देखिए पनि, वडा नम्बर २ ले उत्कृष्ट तालमेल र रणनीतिक कौशल देखाउँदै वडा नम्बर ३ लाई २–० गोलले पराजित गर्दै विजयी हुन सफल भयो। विजेता टिमले गोल गर्ने अवसरलाई सदुपयोग गर्दा विपक्षी टिमले गोलका केही राम्रा अवसर गुमाएका थिए।
“लागुपदार्थ दुव्यसनको अन्त्य” भन्ने मूल नाराका साथ सुरु गरिएको यस प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवामा सकारात्मक सोच विकास गर्नु हो। खेलले युवालाई लागूपदार्थ तथा विकृतिबाट टाढा राखी स्वस्थ, सशक्त र समर्पित नागरिक बनाउन सहयोग पुर्याउने आयोजकहरूको विश्वास छ।
कृष्णपुर नगरपालिकाको सक्रियतामा सञ्चालन भइरहेको प्रतियोगिता सफल बन्दै गएको छ। स्थानीय युवा, खेलप्रेमी र समुदायको उल्लेखनीय उपस्थिति र उत्साहले प्रतियोगितालाई थप आकर्षक बनाएको छ। प्रतियोगिता अन्तर्गतका अन्य खेलहरू पनि क्रमशः गुलरिया मैदानमा हुँदैछन्। आगामी खेलहरूमा अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक क्षणहरूको अपेक्षा गरिएको छ।