जेठ १८ धनगढी
सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हीरासिंह सार्कीले पत्रकारको क्षमता अभिवृद्धिका लागि आफू सधै लागि रहने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको अनलाइन मल्टिमिडिया सम्बन्धी दुई दिने प्रशिक्षणको आइतबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


हिजोका दिनमा कापी र कलमको माध्यमबाट पत्रकारले समाचार संकलन गर्ने गरेको स्मरण गर्दै उनले भने ‘समयको माग अनुसार अहिले सोही अनुसार पत्रकार चलिरहेको देख्न पाउदा खुशी लागेको छ ।’
पछिल्लो समय संसारै हातमा बोकेर पत्रकारहरु रिपोर्टिङ गर्ने गरेको उनले बताए । उनले भने ‘जसरी प्रविधिको विकास भइरहेको छ । त्यसैगरी पत्रकारिताको विकासका लागि यस्ता क्षमता अभिवृद्धिका कार्यक्रम गरी थप सशक्त बनाउन जरुरी छ ।’ यो दुईदिने तालिमबाट पत्रकारहरु थप सशक्त भएकोे आफूलाई आभाष भएको उनको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमीदप्रसाद बाग्चन्द,पूर्व केन्द्रीय सचिव हेमकर्ण विक,प्रशिक्षक विकास कार्कीले यो कार्यक्रमबाट पत्रकारहरुमा निखारपन आएको बताए ।
कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले आगामी दिनमा पनि यस्ता कार्यक्रमका लागि अर्थमन्त्रालय ,मुख्यमन्त्री र कानुन मन्त्रालयसँग आग्रह गरेको बताए । कार्यक्रमको सञ्चालन महासंघका प्रदेश महासचिव शिवराज भट्टले गरेका थिए ।
