हेमा भट्ट १९ जेठ २०८२
कञ्चनपुर- कृष्णपुर – “शिक्षा मेरुदण्ड हो, विद्यालय कारखाना हो”, भन्दछन् कृष्णपुर नगरपालिका–३ स्थित नन्द माध्यमिक विद्यालयका अनुभवी शिक्षक तथा लेखापाल धनसिंह ऐरी। दुई दशकभन्दा बढी समयदेखि शिक्षण क्षेत्रमा क्रियाशील रहेका ऐरी शिक्षा, राज्यको दायित्व, र सामाजिक यथार्थबारे गहिरो सोच राख्ने शिक्षकको रूपमा परिचित छन्।
शिक्षा प्रणालीप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले भने, “राम्रो कारखानाबाट गुणस्तरीय नागरिक जन्मिन्छन्। तर अहिले शिक्षाको बाटो पूर्व तिर छ भने, राज्यको बाटो पश्चिम तिर। यी दुईबीच समन्वय छैन।”
शिक्षामा राजनीतिक हस्तक्षेपप्रति आपत्ति शिक्षामा बढ्दो राजनीतिक प्रभावप्रति असन्तुष्टि जनाउँदै ऐरी भन्छन्, “शिक्षकको धर्म शिक्षण हो, राजनीति होइन। सबै शिक्षकले गुणस्तरीय शिक्षा दिनुपर्छ।” उनले शिक्षकहरूले शिक्षणमा पूर्ण समर्पित हुनुपर्नेमा जोड दिए।
गणतन्त्रप्रति समर्थन, तर सुधारको माग हालको राजनीतिक व्यवस्थाप्रति समर्थन जनाउँदै उनले भने, “हामीलाई गणतन्त्र मात्र चाहिन्छ, अरू तन्त्र आवश्यक छैन। तर यो गणतन्त्रमा चुहावट छ। २०४६ सालदेखि अहिलेसम्मका नेताहरू, कार्यकर्ताहरू र कर्मचारीहरूमा सुधार जरुरी छ।”
भ्रष्टाचार रोक्न सके देश धनी बन्न सक्छ “यदि हाम्रो देशमा घुसखोरी मात्र रोक्न सकियो भने, हामी पनि धनी देश बन्न सक्छौं,” भन्दै ऐरीले कर्मचारी, नेता र कार्यकर्ताहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने आवश्यकता औँल्याए।
निःशुल्क शिक्षा व्यवहारमा चुनौतीपूर्ण राज्यले निःशुल्क शिक्षाको घोषणा गरे पनि व्यवहारमा अनेक चुनौती रहेको उनी बताउँछन्। “विद्यालय चलाउन दैनिक ७/८ हजार रुपैयाँ खर्च आउँछ। शिक्षक संख्या नपुग्दा निजी शिक्षक राख्नुपर्ने बाध्यता छ,” उनले भने। स्थानीय सरकारको सहयोग पर्याप्त नभएको भन्दै ऐरीले राज्यको जिम्मेवारी र सक्रिय हस्तक्षेपको माग गरे।
८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत नन्द मावि कृष्णपुर नगरपालिकामा विद्यार्थी संख्याका हिसाबले दोस्रो ठूलो विद्यालय हो। विद्यालयमा अंग्रेजी माध्यममा पनि पठनपाठन हुँदै आएको छ। “हाम्रो विद्यालयमा अभिभावक, शिक्षक र व्यवस्थापन समितिको सम्बन्ध सन्तुलित र सकारात्मक छ,” ऐरी गर्वका साथ भन्छन्।
धनसिंह ऐरीलाई स्थानीय स्तरमा अनुशासित, निष्ठावान र समाजप्रति उत्तरदायी शिक्षकका रूपमा चिनिन्छ। शिक्षालाई ‘मेरुदण्ड’ मान्ने उहाँको सोचले उहाँलाई ‘क्रान्तिकारी शिक्षक’को रूपमा स्थापित गराएको छ।
शिक्षक धनसिंह ऐरीको सोच, समर्पण र सामाजिक उत्तरदायित्वले आजको शिक्षामा परिवर्तनको प्रेरणा दिन सक्छ। यदि राज्यले यस्ता शिक्षकमाथि विश्वास गरी आवश्यक स्रोत र समर्थन पुर्याउन सके, शिक्षा क्षेत्र सुदृढ बनाउने सपना टाढाको कुरा रहनेछैन।