यातायात बन्दको मारमा सर्वसाधारण, ८ गुणा बढी भाडा असुली

जेठ २० धनगढी
सडक छेउमा देब्रेपट्टि एउटा डोको र दाहिनेपट्टि एउटा ब्याग राखेर गन्तव्यमा पुग्ने गाडीको प्रतीक्षामा थिइन् रुपादेवी । कैलालीको बुडरबाट पेट्रोल बोक्ने गाडीमा जसोतसो अत्तरिया पुगेकी उनी अत्तरियाबाट पनि कुनै सवारी साधन पाइन्छ की भन्ने उपेक्षामा उनी सडक छेउमा उभिएकी थिइन । अत्तरियामा रहेको ट्राफिक प्रहरी पोस्ट अगाडि उभिएकी उनले केही दिन अघि कैलालीकै सुख्खडबाट देउता पूजा गर्न बुडर गएको बताइन् ।

‘बुडर बजारमा पुग्दा अत्तरियाबाट पूर्व रोडमा गाडी चल्दैछन भने । अनि हामी बुडरबाट तेल बोक्ने ट्याङ्करमा आयौ । अत्तरियामा आएर कुनै गाडी पाइएन । चार घण्टा देखि सडक किनारामा बसेका छौ’ उनले भनिन् ‘यहाँ अटोले २ हजार भन्छ जिप, कारले १५ सय भन्छ । के गरी जाने । आफूसँग ५ सय रुपैयाँ मात्रै छ ।’

सुख्खडबाट अत्तरिया आउँदा बसमा २५० तिरेर आएको सम्झिँदै उनले भनिन ‘अब यहाँ पनि कहाँ बस्ने हो । हामी दुखी गरिबलाई यो बन्दले झन् दुःख दियो ।’ उनले अटोमा २ हजार तिर्न नसकिने भएकाले सामान यतै राखेर गाउँमा बास बस्ने योजना रहेको बताइन् । उनले भनिन् ‘हामी बुढा बुढी छौ । अब २ हजार तिरेर जान त सकिँदैन सामान कतै राखेर गाउँ तिर कतै बास माग्नुपर्ला ।’

रुपादेवीका श्रीमान् जहर सिंह विकले पनि बुडरबाट आउनु अघि गाडी बन्द भएको बारेमा थाहा नभएको बताए । अत्तरियाबाट गाडी नपाउँदा निकै समस्या भएको उनले बताए ।

कैलालीको मोहन्याल गाउँपालिका – ६ का उमाकान्त तिमिल्सेना पनि अत्तरियामा अलपत्र परेका थिए । काम विशेषले जिल्ला प्रशासन कार्यालय कैलाली आएका उनले यातायात बन्द भएपछि अलपत्र परेको बताए । ‘धनगढीबाट एक जना भाइले मोटरसाइकलमा अत्तरिया सम्म ल्याइदियो अब यहाँबाट कुनै गाडी पाइएको छैन’ उनले भने ‘आज बन्द हुन्छ भन्ने बारेमा मलाई पहिला जानकारी थिएन ।’

गण्डकी प्रदेशमा निजी सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि यातायात व्यवसायीले सोमबार देशैभरि सार्वजनिक यातायात बन्द गर्दा रुपादेवी र जहर सिंह जस्ता थुप्रै यात्रु अत्तरियामा अलपत्र परेका थिए । सुदूरपश्चिमको जक्सनको रूपमा रहेको अत्तरियामा कोही थाहा नपाएर, कोही यताबाट सवारी साधन पाइहालिन्छकी भनेर त कोही अत्यावश्यक कामले अत्तरियामा पुगेर अलपत्र परेका थिए ।

सार्वजनिक यातायात व्यवसायीले भने सार्वजनिक बस, जिप, मात्रै नभएर कालो नम्बर प्लेटका अटो रिक्सा, ट्रक टिप्पर समेत बन्द गराएका थिए । जसले गर्दा रातो नम्बर प्लेटका सवारी साधनले महँगोमा यात्रु ओसारिरहेका थिए भने केही कालो नम्बर प्लेटकै अटो रिक्साले पनि बन्दकर्ताको आँखा छलेर निकै महँगो भाडा लिएर यात्रु ओसारिरहेका थिए ।

गण्डकीमा निजी सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि यातायात व्यवसायीले देशैभरि सार्वजनिक यातायातहरू बन्द गरेका थिए । जसको फाइदा उठाउँदै सोमबार रातो नम्बर प्लेट भएका सवारी साधनले झन् यात्रु ओसारिरहेका थिए ।

सुदूरपश्चिम यातायात प्रालिका अत्तरिया शाखा इन्चार्ज शिवराज भट्टराईले भने यात्रु बोकिरहेका सबै यातायातका साधनहरू बन्द गरिरहेको बताए । उनले कालो नम्बर प्लेटका सवारी साधनहरू मात्रै नभई यात्रु बोकिरहेका सबै सवारी साधनहरू बन्द गरिएको बताए ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका थिए । घोषणा अनुरूप नै अनिश्चित कालसम्मका लागि यातायात सेवा बन्द रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply