थारू सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

हेमा भट्ट जेठ २० धनगढी
कञ्चनपुर, कृष्णपुर – कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित थारू सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

थारू रहनसहन, संस्कृतिक नाचगान तथा परिकार प्रदर्शन गरिएको यस कार्यक्रम थारू कल्याणकारी सभा, जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा, सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा थारू कल्याणकारी सभा कृष्णपुर नगर कार्य समितिको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय गीता चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा कृष्णपुर नगर प्रमुख हेमराज ओझा सहभागी हुनु भयो।

त्यसैगरी, वडा नम्बर ३ का अध्यक्ष खेमराज चौधरी, वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ५ का अध्यक्ष टेक पाण्डे, वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न राना विभिन्न सामुदायिक वनका अध्यक्षहरू, थारू कल्याणकारी समितिका पदाधिकारी, भलमन्सा, स्थानीय अगुवा तथा समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व थारू कल्याणकारी जिल्ला कञ्चनपुर अध्यक्ष सानु चौधरीले गर्नुभयो। स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष आशाराम चौधरीले दिनुभयो भने कार्यक्रम सञ्चालन नगर समिति अध्यक्ष लालबहादुर चौधरीले गर्नुभएको थियो।

कार्यक्रम प्रारम्भमा थारू समुदायको परम्परागत पहिरन तथा थारू परिकारहरूको अवलोकन गराइएको थियो। स्थानीय माछा, ढिकरी, घुँघी, पकौडा, बयरको चटनी, धनियाको चटनी, मिसौला लगायतका परिकारहरू तीनवटा स्टलमा प्रदर्शन गरिएको थियो। महिलाहरूले परम्परागत लेहङ्गा, गुनिया, ब्लाउजमा सजिएर सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए।

अतिथिहरूलाई फूलमाला र फुन्ना लगाएर भव्य स्वागत गरिएको थियो।

कार्यक्रमका सन्दर्भमा थारू कल्याणकारी सभा केन्द्रीय सदस्य डा. फुलराम चौधरी, मजगाउँ होमस्टेका अध्यक्ष कल्पना चौधरी, तथा थारू कल्याणकारी सभा कैलालीका पूर्व सभापति माधव चौधरीको पनि विशेष चर्चा गरिएको थियो।

नगर प्रमुख हेमराज ओझाले थारू भाषामा स्वागत मन्तव्य राख्दै कार्यक्रमप्रति सह्राना व्यक्त गर्नुभयो। वडाध्यक्ष खेमराज चौधरी र टेक पाण्डेले थारू समुदायको पहिचान जोगाउने कार्यमा वडा तथा नगरस्तरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

प्रमुख अतिथि गीता चौधरीले कार्यक्रमप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

समापन मन्तव्यमा सभापति सानु चौधरीले समुदायको इतिहास, संस्कार र जिम्मेवारीको महत्वबारे गम्भीर धारणा राख्दै माननीय गीता चौधरीलाई विशेष धन्यवाद दिनुभयो।

कार्यक्रममा विभिन्न ठाउँबाट प्रस्तुत सांस्कृतिक नृत्य तथा गीतहरूले दर्शकको मन जितेको थियो। उपस्थितिको हिसाबले पनि कार्यक्रम अत्यन्तै सफल र भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply