२१ जेष्ठ धनगढी
गङ्गा दशहरा पर्वको अवसरमा कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका चार स्थानीय तहले भोलि जेठ २२ गते (विहिवार) सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले गङ्गा दशहराको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई दृष्टिगत गर्दै बिदा दिने निर्णय गरेका हुन् ।
लालझाडी गाउँपालिकाले भने एक दिन अतिरिक्त बिदा दिँदै जेठ २३ गते (शुक्रवार) समेत सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
पालिकाहरूले जारी गरेका सूचनाहरूमा पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूमा बिदा लागू हुने उल्लेख गरिएको छ ।
साथै, पालिकाहरूले सूचना जारी गर्दै सम्पूर्ण पालिकावासीहरूलाई गङ्गा दशहरा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । गङ्गा दशहरालाई हिन्दू धर्ममा पवित्र नदीमा स्नान, दान–धर्म र धार्मिक कार्यद्वारा पुण्य प्राप्ति गर्ने विशेष पर्वका रूपमा मनाइन्छ ।