धनगढी– गंगा दशहरा पूजा तथा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले एक दिन सार्वजनिक बिदा घोषणा गरेको छ। उपमहानगरपालिका–१६ रामपुरस्थित ऐतिहासिक बेहडाबाबा मन्दिरमा प्रत्येक वर्ष गंगा दशहरा मेलाको आयोजना गरिँदै आएको छ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीका अनुसार जेठ २२ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। उक्त दिन उपमहानगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा संघ–संस्थाहरू बन्द रहनेछन्।
गंगा दशहरा पर्व हिन्दू धर्मावलम्बीका लागि अत्यन्त पवित्र दिन मानिन्छ। यस दिन गङ्गा नदी पृथ्वीमा अवतरित भएको विश्वास गरिन्छ। सोही अवसरमा बेहडाबाबा मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ, जसमा नेपाल र भारतका हजारौं श्रद्धालुहरू सहभागी भएर विशेष श्रद्धाका साथ पूजा, अर्चना र दर्शन गर्ने परम्परा छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्त्वपूर्ण यो मेलाले स्थानीय पहिचान, धार्मिक पर्यटन र सामुदायिक एकता प्रवर्द्धन गर्न योगदान पुर्याउँदै आएको छ।
पालिकाको बिदा घोषणासँगै मेलामा सहभागी हुन चाहने श्रद्धालु तथा स्थानीय बासिन्दाहरूलाई सजिलो हुने विश्वास लिइएको छ।