हेमा भट्ट २२ जेठ २०८२
कञ्चनपुर — बेलौरी नगरपालिका–५ स्थित भकुन्डा क्षेत्रको प्रसिद्ध दशरा मेला आजदेखि सुरु भएको छ। हरेक वर्ष झैं यसपालिको मेला पनि स्थानीय हिन्दू समुदायका साथै विभिन्न स्थानबाट आएका भक्तजनहरूको उपस्थितिमा भव्य रूपमा सुरु भएको हो। मेलाको सुरुवातसँगै मन्दिर परिसरमा धार्मिक पूजा–अर्चना, भजन–कीर्तन, र सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन्।
यस अवसरमा संवाददातासँग कुरा गर्दै विश्व हिन्दू परिषद् कञ्चनपुरका जिल्ला उपाध्यक्ष धनबहादुर कुवरले भकुन्डा मेलाको महत्व बारे धारणा व्यक्त गरे। उनले भने, “यो मेला केवल धार्मिक आस्था मात्र होइन, हाम्रो सांस्कृतिक एकताको प्रतीक पनि हो। भकुन्डा मन्दिर शक्ति, विश्वास र परम्पराको समागम हो।”
उनले थप स्पष्ट पारे, “विश्व हिन्दू परिषद् कुनै पनि राजनीतिक उद्देश्यसँग जोडिएको संगठन होइन। हामी सबै धर्मलाई समान दृष्टिले हेर्छौं र राष्ट्रहितका निम्ति सहकार्य गर्न सधैं तयार छौं।”
धनबहादुर कुवरले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा परिषद् सधैं अग्रसर रहेको उल्लेख गरे। उनले भने, “धर्मले मानिसलाई विभाजन होइन, एकता सिकाउँछ। हामीले हिन्दू मूल्य र परम्परा संरक्षण गर्नेमात्र नभई, अरू धर्मप्रति पनि सम्मान जनाउने संस्कृति निर्माण गर्नुपर्छ।”
भकुन्डा मेला सुदूरपश्चिमको एक प्रसिद्ध धार्मिक मेला हो, जहाँ प्रत्येक वर्ष हजारौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन्। स्थानीय तह, सुरक्षा निकाय र धार्मिक संघसंस्थाहरूको सहकार्यमा मेला सफलतापूर्वक सञ्चालन भइरहेको छ।