राजघाटको उज्यालो यात्रा: सात दशकको अध्यारो पर्खाइपछि जीवन बदलिने पुल

रैकवार खबर
राजघाट – कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–९ स्थित राजघाट क्षेत्र, जसले विगत सदीयौंदेखि मोहनानदीको अड्चनका कारण कहिले अध्यारो त कहिले पीडाको जीवन भोग्दै आएको थियो, अब भने उज्यालोमा परिणत भएको छ। एक समयमा बत्ती, बाटो, पुल नपाएका यहाँका बासिन्दाहरू अहिले भने कालोपत्रे सडकमा हिँडिरहेका छन्, उज्यालो बत्तीमा रात बिताइरहेका छन्, र सेवा–सुविधासहितको जीवन जिउँदैछन्।

नदीले छुट्याएको, बजारले जोडेको सम्बन्ध राजघाट, पिपरिया, घोडाघाट, विचवा, मज्गै लगायतका गाउँहरू धनगढी उपमहानगरपालिकासँग सिमाना जोडिए तापनि, ती क्षेत्रमा जीवनयापन कठिन थियो। नुनदेखि सुन, कपडादेखि औषधिसम्म, तरकारीदेखि दुधसम्म सबै कुरा ल्याउन धनगढी बजार जानुपर्ने बाध्यता थियो। तर, बाधक थियो—मोहनानदी। नदीमा पुल थिएन, बाटो थिएन, जोखिम थियो।

स्थानीय बासिन्दा पुन्टे चौधरी भन्छन्: “छ महिनासम्म नदी पार गर्न नसक्ने अवस्था थियो, बिरामीले उपचार नपाएर ज्यान गुमाएका थुप्रै उदाहरण छन्।”

शिक्षा, स्वास्थ्य र सुरक्षामा गहिरो असर पानीको भेल, हिलोको यात्रा, बाढीले बगाएको सवारी, डुबेका किताब, छुटेका परीक्षा—यी सबै दृश्यहरू यहाँका स्थानीयको बाल्यकालको सम्झना हुन्। कतिपय विद्यार्थीले नदी पार गर्न नसक्दा एक वर्ष पढाइ गुमाउनु परेको छ।

स्थानीय सुस्मिता चौधरी भन्छिन्,
“बर्खामा काखमा बहिनी र झोलामा किताब राखेर नदी तर्ने कहिल्यै नबिर्सने क्षण हुन्।”

गणतन्त्रपछि पुल, सडक र उज्यालोको आगमन गणतन्त्र आएसँगै जनताले पाएको पहिलो उपलब्धि हो—आशा। मोहनामा पक्की पुल निर्माण सुरु भयो। ३ वर्षमा सकिने भनिएको पुल बनाउन ८ वर्ष लाग्यो। तर आज त्यो पुल बनेपछि जनजीवनले ठूलो राहत पाएको छ।

डुङ्गामा ५० देखि २०० रुपैयाँसम्म तिरेर जानुपर्ने बाध्यता हटेको छ। झोलुङ्गे पुलहरू र ग्राभेल सडकले आवतजावत सहज बनेको छ। अहिले त राजघाटदेखि धनगढीसम्म कालोपत्रे सडक बिछिएको छ।

अहिलेको राजघाट: धनगढीको आर्थिक फेदमा रूपान्तरण
पुल र बाटोले राजघाट मात्र होइन, यहाँको जमिनको मूल्य र आर्थिक हैसियत समेत परिवर्तन गरेको छ। एक समय हजार रुपैयाँ प्रतिकट्ठा मूल्य रहेको जमिन अहिले लाखौंमा कारोबार भइरहेको छ। बजार विस्तार भएको छ, व्यापार फस्टाएको छ, युवाहरू फर्केर गाउँमै व्यवसाय गर्न थालेका छन्।

स्थानीय किसान रामनाथ रैकवार भन्छन्,
“पहिले नदीमा साइकल बग्थ्यो, अहिले साइकल होइन, गाडी गुड्छ।”

“सिंहदरबार गाउँमै आइपुगेको छ” — स्थानीय सरकारी सेवाहरू, अस्पताल, विद्यालय, बैंक सेवा, मोबाइल नेटवर्क, इन्टरनेट—सबै कुराले गाउँको जीवन सहज बनाएको छ।
“पहिले सिंहदरबार टाढा लाग्थ्यो, अहिले त गाउँमै आइपुगेको महसुस हुन्छ,” एक वृद्धले भने।

अन्तिममा: अध्यारो इतिहासबाट उज्यालो भविष्यतर्फको सजीव यात्रा राजघाटको परिवर्तन सिङ्गो सुदूरपश्चिम प्रदेशको ग्रामीण जनजीवन परिवर्तनको प्रतीक हो। जहाँ कहिल्यै नपुगेको विकास आज सम्भव भएको छ। पुल, सडक र चेतनाले गाउँलाई बाँधेर राखेको छ।

एक स्थानीय महिला भन्छिन्, “हजुरआमाले भन्ने गर्थिन—कहिले पुल बनला होला? आज त्यो सपना पुरा भएको देखेर खुशी लाग्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply