जेठ २५ धनगढी
भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले तयार नभएकाले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलबारे जानकारी गराएको माओवादीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार प्रचण्डले संसद्को अवरोध हटाउन विपक्षी दलहरूले राखेको प्रस्ताव उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए सदन खुलाउन आफू तयार भएको प्रस्ताव राखेका थिए । तर प्रचण्डको प्रस्तावमा देउवा तयार नभएकोबारे उनले बैठकमा ब्रिफिङ गरेका थिए ।
‘भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने हाम्रो अडान कायमै छ । समिति गठन गर्न प्रचण्डले देउवासँग राख्नुभएको प्रस्तावबारे पनि तयार भएको देखिएन । अहिले सत्तापक्षकै नेताहरू छलफलमा होलान् । हाम्रो अडान यथावत रहेको छ’, पाण्डेले भने ।
विपक्षी दलहरूको निर्णय लिएर उपमहासचिव शक्ति बस्नेतले कांग्रेसका नेताहरूसँग गरिएको छलफल समेत सकारात्मक नभएको पाण्डेले जानकारी दिए ।